नेपाली अभिनेता अनुपविक्रम शाही र कलाकार प्रशान्त तामाङ समेटिएको फिल्म ‘मातृभूमि : मे वार रेस्ट इन पिस’ को ट्रेलर सार्वजनिक भएको छ। लामो निर्माण प्रक्रियापछि आएको यो ट्रेलरमा प्रशान्त तामाङ चिनियाँ सेनाको हुलियामा देखिएका छन्।
ट्रेलर सार्वजनिक भएसँगै अनुपविक्रम शाहीको भूमिकाको पनि व्यापक चर्चा सुरु भएको छ, किनभने फिल्ममा उनको अभिनय दमदार देखिन्छ। उनीसँगै पर्दामा देखिएका प्रशान्त तामाङ भने यो फिल्म आफैंले हेर्न पाउने छैनन्। फिल्मको छायांकन सकेर घरमा आराम गरिरहेका बेला उनको निधन भइसकेको थियो।
फिल्म प्रदर्शनको मिति नजिकिँदै जाँदा दर्शकले प्रशान्त तामाङलाई सम्झिरहेका छन्। ट्रेलरमा देखिएको उनको रूपले पनि यो चासोलाई थप बल दिएको छ।
गायनबाट अभिनयसम्मको यात्रा
प्रशान्त तामाङ ‘इन्डियन आइडल’ बाट एकाएक चर्चामा आएका गायक हुन्। गायनबाट पहिचान बनाएका उनले पछि अभिनयतर्फ बढी लगाव देखाए। उनी अभिनित ‘गोर्खा पल्टन’ र ‘परदेशी’ जस्ता नेपाली फिल्मले राम्रै चर्चा पाए भने उनले चर्चित वेब सिरिज ‘पाताल लोक’ मा समेत अभिनय गरेका थिए।
पछिल्लो समय उनी बलिउडमा संघर्षरत थिए र गायनभन्दा अभिनयमा बढी सक्रिय देखिएका थिए। सोही क्रममा उनी फिल्म ‘ब्याटल अफ गलवान’ मा अनुबन्धित भए, जसमा अनुपविक्रम शाही पनि थिए। दुई नेपाली कलाकार जोडिएको सो फिल्मको नाम पछि ‘मातृभूमि : मे वार रेस्ट इन पिस’ राखिएको हो।







