पाँचथरको राँकेबाट धनकुटासम्म जोड्ने राँके–रवि–भेडेटार सडक कालोपत्रे गर्ने काम ठेक्का लागेको आठ वर्ष बितिसक्दा पनि पूरा भएको छैन । भारतीय निर्माण कम्पनीले आयोजनाको काम रोकिरहेको छ । सात पटक म्याद थपिँदा पनि १ सय किलोमिटर लामो सडकको कालोपत्रे कहिले सकिने भन्ने अनिश्चित बनेको छ ।
पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ को लेखगाउँमा बर्खाको भेल बीच सडकबाट बग्दा कालोपत्रे नभएको सडकको ग्राबेल बगाएर खाल्डो बनेको देखिन्थ्यो । सडककै छेउमा रहेको पसलमा नानी बोकेर उभिएकी मनकुमारी राईले बुढेसकालमा पनि घर छेउबाटै पिच सडकमा गाडी चढ्न पाइने आश मरिसकेको बताइन् ।
उनले तीन वर्षमा कालोपत्रे हुने भनिए पनि आठ वर्ष बित्दा नबनेको र कहिले बन्ने टुङ्गोसमेत नरहेको गुनासो गरिन् । हिउँदमा धुलो र बर्खामा हिलाम्ये सडकमा यात्रा गर्नुपरेको उनको भनाइ छ । लेखगाउँकै भोजबहादुर राईले यो सडकले थुप्रै गाउँलाई सुविधा पुर्याउने भए पनि काममा लापरबाही भएको बताए । सरकारले ठेकेदारलाई कारबाही नगर्नेप्रति उनले प्रश्न उठाए । सडक सुविधाका लागि स्थानीयले सधैँ दुःख पाइरहनुपरेको उनको गुनासो छ ।
आठ वर्षमा २२ किलोमिटर मात्र
राँके–रवि–भेडेटार सडकले पाँचथरको दक्षिणी भेग, इलामको उत्तरी क्षेत्र र धनकुटाका विभिन्न गाउँलाई यातायात सुविधा दिन्छ । पाँचथरका फाल्गुनन्द, मिक्लाजुङ, इलामका देउमाई, फाकफोकथुम, माङ्सेबुङ र धनकुटाका चौबिसे तथा साँगुरीगढी क्षेत्रका बासिन्दा यसै सडकमा भर पर्छन् ।
कालोपत्रेका लागि एक्जिम बैंक अफ इन्डियाको ऋण लगानी भएको छ । सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला भएको ऋण सम्झौतामा यो सडक पनि समेटिएको थियो । १९ नोभेम्बर २०१८ मा भारतीय ठेकेदार कम्पनी एफको इन्फ्रा टेक प्रालिसँग ३ करोड २६ लाख १८ हजार ५ सय ४१ अमेरिकी डलरमा कालोपत्रेको ठेक्का सम्झौता भएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ पुसमा पाँचथरको रवि बजारमा कालोपत्रेको शिलान्यास गरेका थिए ।
सात पटक थपियो म्याद, तैपनि अधुरै
सम्झौताअनुसार ३६ महिनामा काम सक्नुपर्ने थियो, तर सात पटक म्याद थपिँदा पनि कामले पूर्णता पाएको छैन । आयोजना कार्यालयका सबइन्जिनियर मुन्नाकुमार यादवले हालसम्म २२ किलोमिटर सडक कालोपत्रे भएको जानकारी दिए । उनका अनुसार करिब २ करोड १ लाख ६८ हजार ७ सय अमेरिकी डलर खर्च भइसकेको छ ।
कात्तिक ३ गतेसम्म ५० किलोमिटर कालोपत्रे गर्ने गरी ६ महिनाको म्याद थपिएको पनि उनले बताए । तर निर्माणको हालको अवस्था हेर्दा सो अवधिमा लक्ष्य पूरा हुने विश्वास गर्न सकिने अवस्था छैन ।
इन्जिनियरहरूका अनुसार ठेक्काको डिजाइनमै समस्या छ । चिसो स्थान भएकाले यहाँ डीभीएसटी प्रविधिबाट कालोपत्रे गर्न कठिनाइ हुने गरेको उनीहरूको भनाइ छ ।
सडक बनेको लामो समयपछि कालोपत्रेको ठेक्का लाग्दा खुसी भएका स्थानीय बासिन्दा अहिले निराश भएका छन् । आठ वर्ष बित्दा पनि अधुरो रहेको कालोपत्रे कामले उनीहरूको आशा मारिएको छ ।






