मुख्य सामग्रीमा जानुहोस्

कबड्डीमा पदकको दोहोरो सपना

अघिल्लो संस्करणमा महिला टोलीले कांस्य पदक जितेर इतिहास रचेको थियो। यसपटक पदक रक्षा गर्दै रंग बदल्ने लक्ष्य छ। बजेट अभावका बीच पुरुष टोली पनि पहिलो पदकका लागि भारतमा प्रशिक्षण गरिरहेको छ।

विश्वपत्र संवाददाता

· ३ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar

३० साउन, काठमाडौँ। अघिल्लो संस्करणमा ऐतिहासिक कांस्य पदक जितेको नेपाली महिला कबड्डी टोली २०औँ एसियाली खेलकुदमा त्यसभन्दा माथिको नतिजा निकाल्ने लक्ष्यसहित भारतमा कडा मेहनत गरिरहेको छ।

हाङझाउमा भएको १९औँ एसियाडमा महिला टोली सहभागितामै सीमित हुने आकलन गरिएको थियो, तर उसले उत्कृष्ट प्रदर्शन गर्दै देशलाई कांस्य पदक दिलायो। अब पुरानै सफलता दोहोर्‍याउने र सम्भव भए रंग बदल्ने चाहनाका साथ टोली हरियाणामा तयारीमा जुटेको छ। प्रशिक्षक लोकबहादुर विष्टका अनुसार टोलीले हरियाणाका घरेलु टोलीसँग अभ्यास खेल खेलिरहेको छ र भारतबाटै जापान जाने कार्यक्रम छ। उनले पदक रक्षा गर्नुका साथै अघिल्लो प्रदर्शनभन्दा उत्कृष्ट नतिजा निकाल्ने लक्ष्य रहेको बताए।

महिला टोलीमा अनुभवी खेलाडीको भर

हाङझाउमा पदक जितेको टोलीका ६ खेलाडी यसपटक पनि छन्। कप्तान मानमती विष्टसहित जयन्ती बडु, रविना चौधरी, मेनुका राजवंशी, मिना नेपाली, खिममाया खत्री, गंगा घिमिरे, सिर्जनाकुमारी थारु, नानुमाया पराजुली, विनीता पण्डित क्षेत्री र आस्मा यादव टोलीमा छन्। मानमती, जयन्ती, रविना, मेनुका, गंगा र सिर्जना पदक विजेता टोलीका सदस्य हुन्। मुख्य प्रशिक्षक पार्वती राई, प्रशिक्षक विष्ट र व्यवस्थापक शरद दर्शनधारीको जिम्मेवारीमा टोलीले तयारी गरिरहेको छ। हाङझाउमा पनि पार्वती नै मुख्य प्रशिक्षक थिइन्।

मुख्य प्रशिक्षक पार्वतीले अनुभवी खेलाडीको उपस्थिति र भारतमा पाइने म्याच एक्सपोजरका कारण यसपालि पनि टोली पदकविहीन नहुने विश्वास व्यक्त गरेकी छन्। करिब डेढ महिना भारतमै बसेर तयारी गर्ने उनको योजना छ। मिसन–२०२६ अन्तर्गत १४ माघ २०८० देखि प्रशिक्षण थालेको टोलीलाई काठमाडौंमा उपयुक्त मैदान नहुँदा सोचेअनुरूप तयारी गर्न कठिन भएको अनुभव छ। अखिल नेपाल कबड्डी सङ्घका एक सदस्यका अनुसार दुई वर्षको अवधिमा महिला टोलीले म्याटमा जम्मा ३० दिन मात्र प्रशिक्षण पाएको थियो। यसबीच टोलीले गत वैशाखमा छैटौँ एसियन बिच गेम्सअन्तर्गत बिच कबड्डी र २०८१ फागुनमा इरानमा भएको छैटौँ एसियाली महिला कबड्डी च्याम्पियनसिपमा पनि कांस्य पदक जितेको थियो।

महिलातर्फको प्रतियोगितामा ८ राष्ट्र सहभागी छन्। नेपाल समूह ‘बी’ मा छ, जसमा श्रीलङ्का, थाइल्यान्ड र चाइनिज ताइपेई छन्। समूह चरणमा चाइनिज ताइपेईलाई मुख्य चुनौतीका रूपमा हेरिएको छ। करिब ३ महिनाअघि बिच कबड्डीमा नेपालले थाइल्यान्ड र चाइनिज ताइपेई दुवैलाई हराएको थियो, तर त्यति बेला चाइनिज ताइपेईले पहिलो रोजाइँको टोलीलाई विश्राम दिएको थियो। सोही प्रतियोगितामा नेपाल श्रीलङ्कासँग पराजित भएको थियो। यसपटक श्रीलङ्कासँगको बदला लिने अवसर पनि नेपालसँग हुनेछ। समूह ‘ए’ मा इरान, जापान, बङ्गलादेश र भारत छन्। १९औँ एसियाडको महिला कबड्डीमा भारतले चाइनिज ताइपेईलाई हराएर उपाधि जितेको थियो। यो समूहबाट भारत र इरान सेमिफाइनलका बलिया दाबेदार हुन्।

उपेक्षामा पुरुष टोली

महिला टोलीभन्दा फरक परिस्थितिबाट गुज्रिएको पुरुष टोलीले बजेट अभावका बीच तयारी गर्न बाध्य भएको छ। २०८० मै प्रशिक्षण सुरु भए पनि बजेट नहुँदा केही समयपछि रोकिएको थियो। त्यसपछि खेलाडीहरू भारत र आर्मीमा छुट्टाछुट्टै प्रशिक्षण गर्न बाध्य भए। अखिल नेपाल कबड्डी सङ्घका महासचिव अरविन्द झाका अनुसार ६ खेलाडीले भारतमा र ४ खेलाडीले आर्मीमा प्रशिक्षण गरेका थिए। साउन १ गतेदेखि मात्रै सबै एकसाथ प्रशिक्षणमा जुटेका छन्।

यो पुरुष टोलीको लगातार पाँचौँ एसियाड सहभागिता हो। यसअघि सन् १९९०, १९९४, १९९८ र २०१८ मा सहभागी भए पनि पदक जित्न सकेको छैन। पछिल्लो पटक २०८१ असोजमा इरानमा भएको बिच कबड्डी विश्वकपमा नेपाल समूह चरणबाटै बाहिरिएको थियो। तर सोही वर्षको जेठमा बङ्गलादेशमा भएको चौथो बंगबन्धु कपमा भने नेपाल उपविजेता बनेको थियो।

पुरुषतर्फका १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘बी’ मा नेपालसँगै इरान, पाकिस्तान, मलेसिया र थाइल्यान्ड छन्। इरान र पाकिस्तानलाई बलिया टोली मानिएको छ। सेमिफाइनल पुग्न नेपालले मलेसिया र थाइल्यान्डलाई हराउनुका साथै इरान वा पाकिस्तानमध्ये एकलाई पनि उछिन्नुपर्नेछ। समूह ‘ए’ मा आयोजक जापान, भारत, चाइनिज ताइपेई, बङ्गलादेश र दक्षिण कोरिया छन्।

टोलीमा घनश्याम रोका मगर, अंकु पुन, आदित चौधरी, प्रकाश गिरी, सुरज बोहरा, संस्कार कुमार, रवि थारु, अशोक जोशी, सागर यादव, कुमार लामा, गणेश पार्की र करुण रसाइली छन्। प्रशिक्षक विष्णुदत्त भट्ट, सहायक प्रशिक्षक कल्याण भुजेल र व्यवस्थापक परशुराम ओलीको जिम्मेवारीमा टोलीले भारतको विकी कबड्डी एकेडेमीमा तयारी गरिरहेको छ। प्रशिक्षक भट्टले यसपटक विगतभन्दा बलियो टोली रहेकाले पदक जित्ने लक्ष्य रहेको बताएका छन्।