३० साउन, स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका–१ मा रहेको अमोर बालगृहका बालबालिकाका लागि कमला पराजुली सामान्य व्यवस्थापक मात्र होइनन्, उनी उनीहरूकी ‘आमा’ पनि हुन्। आफ्नै सन्तान नभए पनि विभिन्न कारणले परिवारबाट टाढिएका ४४ बालबालिकाको दैनिक जीवन सम्हाल्ने जिम्मेवारी उनकै काँधमा छ।
उनको दिन बिहानैदेखि साँझसम्म काममै बित्छ। कतिपयलाई समयमै विद्यालय पुर्याउनुपर्ने हतारो हुन्छ, कतिपयको स्वास्थ्यमा ध्यान दिनुपर्छ, कसैको गृहकार्यमा सघाउनुपर्छ त कोही रिसाएको बेला सम्झाइबुझाइ गर्नुपर्छ। यी सबै काम उनी आमाकै शैलीमा गर्छिन्।
अमोर बालगृहको यात्रा
वि.सं. २०६८ मा स्थापना भई २०७२ देखि नियमित रूपमा सञ्चालनमा आएको अमोर बालगृहमा हाल ४४ जना बालबालिका बस्दै आएका छन्। बालगृहको क्षमता ५० जनाको रहेको छ। स्याङ्जासँगै पर्वत, पाल्पा, कास्की, दाङ, रुकुम र मुगुबाट आएका अनाथ तथा असहाय बालबालिकाले यहाँ आश्रय पाएका छन्।
पारिवारिक समस्या, गरिबी र सामाजिक परिस्थितिका कारण सडकमा पुग्न बाध्य भएका बालबालिकालाई यहाँ सुरक्षित बसोबास, खानपान र शिक्षाको अवसर दिइएको छ। देशका फरक भूगोल र संस्कृतिबाट आएका बालबालिका अहिले यही आश्रयमा एउटै परिवारजस्ता बनेका छन्। कसैको भाषा फरक छ, कसैको रहनसहन फरक छ, तर बालगृहले सबैलाई एउटै घरको सम्बन्धमा बाँधेको छ। पश्चिम नेपालको लोकप्रिय देउडा भाका अहिले फेदीखोलाको आँगनमा पनि गुन्जिन थालेको छ।
आश्रय मात्र होइन, भविष्य निर्माण
बालगृहको व्यवस्थापन खाना र बासको व्यवस्था मिलाउनुमा मात्र सीमित छैन। प्रत्येक बालबालिकाको स्वभाव, स्वास्थ्य, शिक्षा र भावनासँग परिचित रहेर हेरचाह गर्नु पराजुलीको दैनिक जिम्मेवारी बनेको छ। कोही बिरामी पर्दा उनी अभिभावक बन्छिन्, कसैलाई पढाइमा हौसला दिन्छिन् त कसैलाई परिवारको माया महसुस गराउँछिन्।
यहाँ आएका बालबालिकाले पढ्ने, खेल्ने, गीत गाउने र आफ्नै घरमा हुर्किएजस्तै वातावरण पाएका छन्। बालगृहका बालबालिकाकै जीवनमा परिवर्तन ल्याउनु आफ्नो मुख्य उद्देश्य रहेको व्यवस्थापक पराजुलीको भनाइ छ। उनका अनुसार परिवारबाट टाढिएका बालबालिकालाई सुरक्षित वातावरण दिँदै उनीहरूको भविष्य निर्माणमा लाग्नु नै यस बालगृहको काम हो।
देशका विभिन्न भागमा अझै पनि गरिबी, पारिवारिक विखण्डन र अन्य सामाजिक समस्याका कारण धेरै बालबालिका सहाराविहीन बन्ने गरेका छन्। कतिपय सडकमा पुग्छन् भने कतिपय उचित संरक्षण नपाएर असुरक्षित वातावरणमा हुर्किन बाध्य छन्। यस्तो अवस्थामा अमोर बालगृहजस्ता संस्थाले बालबालिकालाई नयाँ जीवनको बाटो देखाउने काम गरेका छन्।
स्याङ्जालाई सडक बालबालिकामुक्त बनाउने अभियानमा पनि यस्ता प्रयास सहयोगी बनेका छन्। तर, निजी तथा सामाजिक पहलबाट मात्र बालबालिकाको दीर्घकालीन संरक्षण सम्भव नहुने भन्दै यस्ता बालगृहलाई राज्यले स्पष्ट नीति र आर्थिक सहयोग गर्नुपर्ने देखिएको छ।
फरक जिल्लाबाट आएका ४४ बालबालिका अहिले अमोर बालगृहको आँगनमा एउटै परिवार बनेका छन्। त्यो परिवारको केन्द्रमा छिन्, आफ्नै सन्तानजस्तै उनीहरूको भविष्य सम्हालिरहेकी कमला पराजुली।

