मुख्य सामग्रीमा जानुहोस्

बञ्चरेडाँडा ल्यान्डफिल ४ वर्षमै भरियो, २० वर्षको योजना विफल

करिब एक अर्ब रुपैयाँभन्दा बढी लागतमा २० वर्षका लागि बनाइएको बञ्चरेडाँडा ल्यान्डफिल साइट सञ्चालनको चार वर्षमै भरिएको छ । यसले स्थानीय जनजीवन, स्वास्थ्य, कृषि र वातावरणमा गम्भीर असर पारेको छ ।

विश्वपत्र संवाददाता

· ४ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
बञ्चरेडाँडा ल्यान्डफिल ४ वर्षमै भरियो, २० वर्षको योजना विफल
Online Khabar

काठमाडौं उपत्यकासहित २१ वटा पालिकाको फोहोर खसालिँदै आएको नुवाकोटको बञ्चरेडाँडा स्यानेटरी ल्यान्डफिल साइट सञ्चालनको चौथो वर्षमै भरिएको छ । फोहोर विसर्जनका लागि २० वर्षसम्म टिक्ने गरी निर्माण गरिएको सो साइटमा अहिले फोहोरको चुली बनेको छ, जसबाट निस्कने लिच्चड कल्पु खोलासम्म पुगेको छ ।

धादिङको धुनिवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाको सिमाना रहेको बञ्चरेडाँडामा २०७९ जेठ १० गतेदेखि फोहोर खसाल्न थालिएको हो । पहिलो सेलको निर्माण सकिएलगत्तै विसर्जन सुरु भएको थियो । दोस्रो सेल नबन्दै तत्कालीन शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको निर्देशनमा फोहोर खन्याइएको र एक वर्षपछि मात्र दोस्रो सेल थप निर्माण गरिएको बताइन्छ ।

अर्बभन्दा बढी लागतको योजना चार वर्षमै सीमा

वैज्ञानिक प्रविधिबाट फोहोर व्यवस्थापन गर्ने उद्देश्यसहित तत्कालीन शहरी विकास मन्त्रालयले करिब एक अर्ब रुपैयाँभन्दा बढी लागतमा साइट निर्माण गरेको थियो । निर्माणपछि साइट काठमाडौं महानगरपालिकालाई हस्तान्तरण गरिएको थियो । तर संघीय सरकारका अनुसार महानगरले वैज्ञानिक ढंगले फोहोर विसर्जन नगर्दा यो साइट फोहोर थुपार्ने डम्पिङ साइटमा परिणत भयो ।

शहरी विकास तथा भवन निर्माण विभागका इन्जिनियर माधव कटुवाल ल्यान्डफिल साइटलाई डम्पिङ साइटमा बदल्नुमा काठमाडौं महानगरको प्रमुख जिम्मेवारी देख्छन् । उनका अनुसार कुहिने र नकुहिने फोहोर छुट्याएर नकुहिने र पुनःप्रयोग गर्न नसकिने फोहोर मात्र बञ्चरेडाँडा पुर्‍याउने योजना थियो । तर फोहोर जसरी संकलन हुन्थ्यो, त्यसरी नै साइटमा थुपारिँदा फोहोरको पहाड बनेको उनको भनाइ छ ।

ल्यान्डफिल साइटको आयु २० वर्ष भनिए पनि यही दरमा फोहोर आइरहने हो भने अबको चार वर्षभित्रै समस्या झन् गम्भीर बन्ने देखिएको छ । हाल औसतमा दैनिक १४ सय टनभन्दा बढी फोहोर बञ्चरेडाँडा पुग्ने गरेको छ ।

छुट्याइएन कुहिने–नकुहिने फोहोर

साइटमा कुहिने फोहोरसमेत आउँदा लिच्चड र दुर्गन्धको समस्या थपिएको हो । सुरुमा १५ देखि २० प्रतिशत फोहोर मात्र साइटसम्म पुर्‍याउने योजना थियो । तर साइटमा खटिएका कर्मचारीका अनुसार ६० प्रतिशतभन्दा बढी फोहोर नछुट्याइकनै आइरहेको छ । अर्गानिक फोहोर बढी भएकाले लिच्चड नियन्त्रण गर्न गाह्रो भएको छ ।

काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागकी प्रमुख सरिता राईले घरघरबाट कुहिने र नकुहिने फोहोर नछुट्याउँदा जटिलता बढेको बताइन् । छुट्याइएको फोहोर राख्न जग्गा चाहिने तर त्यो उपलब्ध नहुँदा महानगर जेजस्तो अवस्थामा फोहोर संकलन हुन्छ त्यसरी नै फाल्न बाध्य भएको उनको तर्क छ । महानगरले फोहोर व्यवस्थापनमा वार्षिक ६५ करोड रुपैयाँ खर्च गर्ने गरे पनि फोहोर छुट्याएर व्यवस्थापन गर्न भने सकेको छैन ।

विसर्जनपछि फोहोर माटोले छोप्नुपर्ने क्यापिङको काम पनि नियमित हुन नसकेको स्थानीयको गुनासो छ । क्यापिङ नहुँदा झिँगा र किरा फैलिनुका साथै गाउँभरि दुर्गन्ध फैलिएको धुनिवेशी नगरपालिका–१ का वडाध्यक्ष मानबहादुर तामाङले बताए ।

रोगी बनेका बस्ती

साइट नजिकैका मानवबस्ती फोहोरका कारण प्रत्यक्ष रूपमा प्रभावित छन् । धुनिवेशी नगरपालिकाका वडा १, ३ र ४ का बासिन्दा प्रभावित छन् । वडाध्यक्ष तामाङका अनुसार अतिप्रभावित वडा १ मा चार हजार ५ सय जनसंख्या छ र त्यहाँका सबै स्थानीय प्रभावित छन् ।

यस्तै नुवाकोटको ककनी गाउँपालिकाका वडा १, २ र ३ पनि प्रभावित छन् । ककनी १ का वडाध्यक्ष पदम बलामीका अनुसार प्रभावित ११ सय घरधुरीले स्वास्थ्य बिमा गरेका छन् । वडा २ का वडाध्यक्ष कृष्ण घिमिरेले १२ सय घरधुरीमध्ये ६ सय अति प्रभावित रहेको बताए । वडा ३ का वडाध्यक्ष घननाथ बजगाईँका अनुसार ९ सय घरधुरीमध्ये ३ सय अति प्रभावित छन् ।

इलाकामा क्यान्सर, मुटु र मिर्गौलाजस्ता रोगका बिरामी धेरै छन् । झाडापखाला, टाइफाइड, श्वासप्रश्वास र छालासम्बन्धी समस्या घरैपिच्छे देखिन्छन् । वरिष्ठ मुटु रोग विशेषज्ञ डा. राजेन्द्र कोजुका अनुसार फोहोरले जैविक र रासायनिक संक्रमण निम्त्याउँछ, जसले फोक्सो र छालामा प्रत्यक्ष असर गर्छ र अत्यधिक दूषित अवस्थामा क्यान्सरसमेत हुनसक्छ ।

स्थानीय बद्रीबहादुर ओझाले बुबा र आमा क्यान्सरकै कारण गुमाएको बताए । उनका अनुसार गाउँमा धेरैलाई क्यान्सर देखिएको छ र कतिपयको ज्यान गइसकेको छ । स्वास्थ्य बिमा भए पनि व्यावहारिक रूपमा सुविधा पाउन कठिन भएको र विशेषज्ञ चिकित्सक, प्रयोगशाला तथा पर्याप्त औषधिको अभाव रहेको स्थानीयको गुनासो छ ।

कल्पु खोलामा लिच्चड, कृषिमा ह्रास

ल्यान्डफिल साइटबाट निस्किएको लिच्चड कल्पु खोलासम्म पुगेपछि खोलाको अवस्था नाजुक बनेको छ । धुनिवेशी–१ का ७६ वर्षीय ध्रुवप्रसाद उप्रेतीले विगतमा पौडी खेल्न र माछा मार्न सकिने खोला अब टेक्नै नसकिने बनेको सुनाए । लिच्चडले खोला दूषित भएपछि स्थानीय स्वच्छ खानेपानीको पहुँचबाट वञ्चित भएका छन् ।

दूषित वातावरणका कारण अनाज उत्पादनमा पनि ह्रास आएको छ । स्थानीय खेमबहादुर थापाका अनुसार लिच्चड खेतमा परेपछि धानको गेडा नलाग्ने र बाली, पशु तथा मानिसको स्वास्थ्य सबै प्रभावित भएको छ । पहिले आफ्नै खेतबारीको अनजाले परिवार धानिने गरे पनि अहिले बजारबाट अन्न किन्नुपर्ने अवस्था छ । स्थानीय दिपक कार्कीका अनुसार पहिले सामान्य रूपमा छर्दा पनि २६–२७ मुरी गहुँ फल्ने गरेकामा अहिले गहुँ नै नफल्ने भएको छ ।

कृषि आम्दानीको मुख्य स्रोत हुनुका साथै पशुपालनमा समेत संकट आएको छ । बद्रीबहादुर ओझाका अनुसार पहिले दूध, दही र घिउ बिक्री हुने गरे पनि अहिले बाख्रासमेत बिरामी पर्ने र कुकुरले टोक्ने समस्या बढेको छ । फोहोर र दुर्गन्धका कारण यहाँका स्थानीयलाई वैवाहिक सम्बन्ध जोड्नसमेत कठिन भएको र बसाइँसराइ तीव्र बनेको स्थानीयको गुनासो छ ।

समाधानका प्रयास सीमित

संघ र स्थानीय सरकारले समस्याको समाधान हुने बाचा गरे पनि काम हुन सकेको छैन । २०७९ सालको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरको मेयरमा विजयी भएपछि बालेन शाह सिसडोल–बञ्चरेडाँडा पुगेका थिए । उनले समाधानका लागि पहल गर्ने र समस्या समाधान नभएसम्म खादा पनि नलगाउने बाचा गरेका थिए । निर्वाचित भएलगत्तै उपमेयर सुनिता डंगोलसहित उनी पुनः त्यहाँ पुगेका थिए ।

बालेनले स्थानीयसँग काम गर्न समय दिन आग्रह गर्दै मेयर भएको केही दिनमात्रै भएकाले समस्या तत्काल समाधान गर्न सकिने स्वाभाविक सीमा रहेको बताएका थिए । तर समस्या समाधानको ठोस प्रगति भएको देखिएको छैन ।