मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१९ स्थित बासुदेव नदीमा बाढी आउँदा विद्यालयबाट घर फर्कने क्रममा परेका दुई छात्राको मृत्यु भएको छ भने एक छात्रा अझै बेपत्ता छिन्। बस्तीपुरस्थित निर्मल माध्यमिक विद्यालयकी छात्राहरू मंगलबार कक्षा सकाएर डाँडागाउँ जानका लागि नदी पार गरिरहेका थिए। त्यसै क्रममा नदीमा पानीको बहाव एक्कासि बढेपछि उनीहरू बगिएका वडा अध्यक्ष नरनाथ सुवेदीले बताए।
बगिएकाहरूमध्ये १३ वर्षीया सिमा भोलान भने आफैं नदीबाट बाहिर निस्कन सफल भइन्। अर्की एक छात्रालाई उद्धार गरेर उपचारका लागि हेटौंडा अस्पताल पुर्याइएको छ।
मृत्यु हुनेमा बस्तीपुरकी ८ वर्षीया रोशनी स्याङ्तान र १२ वर्षीया बिनिता भोलान छन्। दीप स्याङ्तानकी छोरी रोशनीको शव नदीमा बगाएको स्थानबाट करिब ५०० मिटर तल रूखको जरामा अड्किएको अवस्थामा फेला परेको थियो। राजकुमार भोलानकी छोरी बिनिताको शव बुधबार बिहान खोजीको क्रममा भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी माधव काफ्लेले जानकारी दिए।
बेपत्ता छात्रा ११ वर्षीया सुमित्रा भोलान हुन्। उनी टिकाराम भोलानकी छोरी हुन्। उनको अवस्था अहिलेसम्म थाहा नभएको प्रहरीले बताएको छ। प्रहरी र स्थानीय प्रशासनले घटनास्थलमा खोजी जारी राखेका छन्।






