गैरआवासीय नेपाली संस्था (एनआरएनए) को वर्तमान अवस्थाले एउटा विरोधाभास देखाउँछ । संस्था निर्माणमा समय, पैसा र जीवनको ठूलो हिस्सा खर्च गरेको पुस्ता आज यसको मूलधारबाट टाढिँदै छ । अर्कोतर्फ, विदेशमै जन्मिएर हुर्किएको नयाँ पुस्ता नेपाली समुदाय र नेपालसँग टाढिएको छैन, तर उसले एनआरएनएलाई आफ्नो स्वाभाविक मञ्च मानेको देखिँदैन ।
एनआरएनए बनाउने पुस्ताले विदेशमा छरिएका नेपालीलाई एउटै चौतारीमा ल्याउने अभियान चलाएको थियो । व्यवसाय र परिवारका लागि छुट्याउनुपर्ने समय संस्थालाई दिएर, आफ्नै खर्चमा देश–देश पुगेर र वर्षौंसम्म स्वयंसेवी भूमिकामा रहेर उनीहरूले संस्थालाई उभ्याए । करिब साढे दुई दशकको यात्रामा संस्थाका कार्यक्रममा सहभागी हुनु आफैँमा सामाजिक जिम्मेवारीजस्तै बनेको थियो; त्यहाँ आफ्नै समुदाय भेटिन्थ्यो र आफूले बनाएको संस्थासँग जोडिएको अनुभूति हुन्थ्यो ।
आज एनआरएनए विस्तारित अवस्थामा छ । ९० देशमा संरचना, नेतृत्व, कार्यक्रम र एजेन्डा छन् । तैपनि संस्था निर्माण गर्ने पुस्तासँगको आत्मीय सम्बन्ध भने कमजोर बन्दै गएको देखिन्छ । संरचना ठूलो हुनु र संस्था बलियो हुनु एउटै कुरा होइन भन्ने देखाउने घटनाक्रम पछिल्ला वर्षहरूमा थप स्पष्ट भएका छन् ।
विवादले कमजोर बनाएको विश्वास
पछिल्ला पाँच–सात वर्ष एनआरएनएका लागि असहज अवधि रह्यो । नेतृत्व विवाद सुरु भएर समानान्तर संरचनासम्म पुग्यो । अधिवेशन र निर्वाचन प्रक्रियामाथि प्रश्न उठे, प्रतिनिधि छनोटदेखि वैधानिकतासम्मका विवाद चले र अन्ततः विषय अदालत पुग्यो । सामाजिक संस्थाका लागि यो सामान्य असहमति मात्र थिएन; यसले गैरआवासीय नेपालीको विश्वास र धैर्यमा असर पार्यो ।
विदेशमा रहेका नेपालीको साझा आवाज बन्नुपर्ने बेला एनआरएनएको आन्तरिक नेतृत्व विवाद नै बहसको मुख्य विषय बन्यो । नागरिकता, श्रमिकका समस्या, सामाजिक सुरक्षा, लगानी र नयाँ पुस्तालाई जोड्ने प्रश्नभन्दा नेतृत्व कसले पाउने भन्ने प्रश्न अगाडि आयो । यसको सबैभन्दा गहिरो असर संस्था बनाउने पुस्तामाथि पर्यो; आफूले निर्माण गरेको संस्था निरन्तर विवादमा देख्दा उनीहरू निराश बने ।
कुनै बेला नेपालमा ‘एनआरएन’ भनेर चिनिनु नै सामाजिक हैसियतको परिचयजस्तो थियो । राजनीतिक नेतृत्व, सरकार र परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपालीको आवाजलाई विशेष महत्व दिन्थे । तर विवाद निरन्तर बढ्दै जाँदा त्यो प्रभाव पनि खस्कियो ।
डब्लिन सम्मेलनमा पुराना अनुहारको अनुपस्थिति
आयरल्यान्डको डब्लिनमा भएको १७औँ एनआरएनए युरोप क्षेत्रीय सम्मेलनले पनि यही अवस्थालाई देखायो । विभिन्न देशबाट उल्लेख्य सहभागिता थियो, विषयगत छलफल भयो, घोषणापत्र जारी भयो र नेतृत्व तथा प्रतिनिधिबीच अन्तर्क्रिया भयो । तर सम्मेलनमा एनआरएनएको लामो यात्रासँग जोडिएका पूर्वअध्यक्ष, अग्रज र परिचित अनुहारको उपस्थिति देखिएन ।
यसलाई पुराना अभियन्ताको असन्तुष्टिको प्रमाण मान्न सकिँदैन; भिसा, व्यस्तता, यात्रा खर्च वा अन्य व्यावहारिक कारण पनि हुन सक्छन् । तर संस्थाले आफ्ना अग्रज र पुराना अभियन्तालाई कति स्वाभाविक रूपमा एउटै मञ्चमा भेला गराउन सक्छ भन्ने प्रश्न भने गम्भीर छ । कुनै समय पुराना अभियन्ता, वर्तमान नेतृत्व र नयाँ अनुहार एउटै ठाउँमा भेटिनु नै संस्थाको निरन्तरता र अपनत्वको संकेत थियो ।
नयाँ पुस्तालाई कुरेको अवसर
विदेशमा हुर्किएको पुस्ताको नेपाल र नेपाली समुदायसँगको सम्बन्ध टुटेको छैन, तर उसले एनआरएनएलाई त्यही आँखाले हेरेको छैन । पहिलो पुस्ताका लागि एनआरएनए आफ्नै संघर्षको विस्तार थियो; नयाँ पुस्ताका लागि यो एउटा सम्भावित संस्था मात्र हो । आफ्नो जीवनको ठूलो हिस्सा नेपालबाहिर बिताएको पुस्तालाई केवल भावनात्मक अपिलले जोड्न सकिँदैन । उसले आफ्नो सीप प्रयोग गर्ने ठाउँ, नेपाल र बसेको देशबीच काम गर्ने अवसर, लगानीको सम्भावना र आफ्नै पुस्ताको अर्थपूर्ण भूमिका खोज्छ । संस्था पदको प्रतिस्पर्धा र पुरानो विवादको निरन्तरताजस्तो देखियो भने दूरी स्वाभाविक हुन्छ ।
एनआरएनएसँग अहिले दुइटा बाटो छन्—पुरानो पुस्तालाई पन्छाएर नयाँ पुस्ता ल्याउने, वा पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जालाई एउटै संस्थामा जोड्ने । दोस्रो बाटो कठिन छ, तर दीर्घकालीन रूपमा अर्थपूर्ण देखिन्छ ।
नयाँ पुस्तासँग सम्बन्ध बनाउन एनआरएनएले आफूलाई उसका लागि किन आवश्यक बनाउने भन्ने प्रश्नको जवाफ दिनुपर्ने हुन्छ । पहिलो पुस्तालाई विदेशमा समुदाय निर्माण भइरहेका बेला साझा मञ्चको आवश्यकता थियो । नयाँ पुस्ता भने आफू हुर्केको देशमै सामाजिक र व्यावसायिक रूपमा स्थापित छ, उसको आफ्नै नेटवर्क, अवसर र पहिचान छ । त्यसैले उसलाई नेपालसँग जोड्ने भाषा पनि फरक हुनुपर्छ । नेपाल फर्केर बस्नु मात्र नेपालसँग जोडिनु होइन; विदेशमै बसेर लगानी गर्ने, नेपाली युवासँग व्यवसाय गर्ने, प्रविधि र ज्ञान जोड्ने, अनुसन्धानमा सहकार्य गर्ने र नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने अवसर पनि यहीबाट खुल्छ । पहिलो पुस्ताको सम्बन्धको माध्यम रेमिट्यान्स थियो; दोस्रो पुस्ताले ज्ञान, सीप, लगानी र अन्तर्राष्ट्रिय नेटवर्कमार्फत त्यसलाई विस्तार गर्न सक्छ ।
तर त्यसका लागि एनआरएनएले नयाँ पुस्तालाई सदस्य संख्या मात्र ठान्न छोड्नुपर्छ । उसलाई संस्थाको भावी साझेदारका रूपमा हेर्नुपर्छ । एउटा पुस्तालाई विगतको र अर्कोलाई भविष्यको प्रतिनिधि मात्र मान्ने हो भने दुवैलाई वर्तमानमा जोड्ने ठाउँ बन्दैन ।
आकार होइन, सम्बन्ध हो अबको मापदण्ड
नेतृत्वको सफलताको मापदण्ड पनि बदल्नुपर्ने देखिन्छ । कति देशमा समिति बने, कति बैठक भए, कति सम्मेलन आयोजना भए वा कति प्रस्ताव पारित भए भन्नेभन्दा महत्वपूर्ण के हो भने—एउटा सामान्य सदस्यले संस्था आफ्नो जीवनसँग जोडिएको महसुस गर्छ कि गर्दैन, पुरानो अभियन्ताले आफ्नो योगदानको अर्थ देख्छ कि देख्दैन र नयाँ पुस्ताले एनआरएनएभित्र आफ्नो भूमिका देख्छ कि देख्दैन ।
एनआरएनए अहिले पुरानो शक्ति र नयाँ सम्भावनाबीच पुल बनाउनुपर्ने मोडमा छ । विवादले कमजोर बनाएको विश्वास पुनःनिर्माण गर्नु, नेतृत्व र समुदायबीचको दूरी घटाउनु र संस्थालाई पदका लागि होइन, उद्देश्यका लागि मानिस आउने साझा मञ्चका रूपमा स्थापित गर्नु आवश्यक छ । संस्थाको इतिहासले संरचनाभन्दा ठूलो शक्ति विदेशमा रहेका नेपालीको अपनत्व नै रहेको देखाउँछ ।
यसका लागि एनआरएनएले आफ्नै विगतसँग इमानदार भएर हेर्नुपर्ने छ । कहाँ सफल भयो, कहाँ चुक्यो, किन मानिस निराश भए, किन अग्रजहरू किनारातिर पुगे र किन विदेशमा हुर्किएको पुस्ताले यसलाई आफ्नो स्वाभाविक मञ्च ठानेन भन्ने प्रश्नबाट भागेर संस्थाको नयाँ अध्याय सुरु हुन सक्दैन । संस्थाको पुनर्जागरण नयाँ संरचना वा नयाँ नाराबाट होइन; संस्थाका लागि समय र पैसा खर्च गरेको अभियन्ताले आफ्नो लगानी खेर गएन भन्ने अनुभूति गरेपछि र विदेशमा हुर्किएको युवाले यो मेरा बाबुआमाको पुस्ताको मात्र होइन, मेरो पनि हो भन्ने महसुस गरेपछि मात्र सुरु हुन्छ ।
त्यसका लागि पुरानो पुस्तालाई बिर्सनु नपर्ने, नयाँ पुस्तालाई पुरानोसँग प्रतिस्पर्धा गराउनु पनि नपर्ने । एकले कमाएको अनुभव र अर्कोले बोकेको सम्भावनालाई एउटै ठाउँमा जोड्न सक्नुपर्छ । एउटा पुस्ताले एनआरएनएको जग बनाएको छ; अर्को पुस्ताले त्यही पुरानो भवन दोहोर्याउनुको सट्टा आफ्नो समय र आवश्यकताअनुसार नयाँ घर बनाउनुपर्नेछ ।






