अमेरिकाको कोलोराडो राज्यमा हिमालयन ओपन गल्फ प्रतियोगिता २०२६ ले नयाँ इतिहास रचेको छ। क्यासल रकस्थित रेड हक रिज गल्फ कोर्समा अगस्ट ८ र ९ गते भएको उक्त प्रतियोगितामा ११० भन्दा बढी प्रवासी नेपाली गल्फरहरूले भाग लिएका थिए।
अमेरिकाका विभिन्न राज्य, नेपाल र क्यानडाबाट गल्फरहरू प्रतियोगितामा सहभागी भएका थिए। नेपालबाहिर आयोजित नेपाली गल्फ प्रतियोगितामध्ये यो सबैभन्दा ठूलो मध्येको एक भएको आयोजकले जनाएको छ।
अन्तर्राष्ट्रिय सहभागिता
प्रतियोगितामा नेपालबाट अल्टिच्युड एयर हेलिकप्टरका व्यवसायी निमा नुरु शेर्पा र सेवानिवृत्त एसएसपी राजेन्द्र श्रेष्ठ सहभागी थिए। क्यानडाको नेपाली समुदायको प्रतिनिधित्व तेन्जिङ शेर्पा, नेत्र राई र राजु भट्टराईले गरेका थिए।
आयोजक शेर्पा फाउन्डेसनका अध्यक्ष पेम्बा तेन्जिङ शेर्पाका अनुसार सीमापार नेपाली गल्फरहरूलाई मित्रता, खेलकुद भावना र गल्फप्रतिको साझा रुचिमार्फत जोड्न यो आयोजना गरिएको हो। ‘कनेक्टिङ द डायस्पोरा थ्रु गल्फ’ भन्ने नारासहित सम्पन्न प्रतियोगिता दुई दिने ३६ होल स्ट्रोक प्ले ढाँचामा चलेको थियो। बिहान ८ बजे सटगन स्टार्टबाट प्रतियोगिता सुरु भएको थियो।
प्रतियोगिताको एक दिनअघि अगस्ट ७ मा अन्तर्राष्ट्रिय रूपमा चर्चित युवा नेपाली महिला गल्फर प्रतिमा शेर्पाले कोलोराडोमा १५ वर्षमुनिका नेपाली बालबालिकाका लागि विशेष गल्फ क्लिनिक सञ्चालन गरेकी थिइन्। उक्त क्लिनिकले युवा पुस्तालाई गल्फसँग जोड्ने र सीमाभन्दा बाहिर सपना देख्न प्रेरित गर्ने आयोजकको भनाइ छ।
प्रतिस्पर्धा र पुरस्कार
प्रतियोगितामा सहभागीमध्ये करिब २० जना सिंगल डिजिट ह्यान्डिक्याप भएका खेलाडी र दुई स्क्र्याच खेलाडी रहेको आयोजकले बताएको छ। खेलाडीहरूलाई ह्यान्डिक्यापका आधारमा तीन फ्लाइटमा विभाजन गरिएको थियो। सबै तहका खेलाडीका लागि प्रतिस्पर्धात्मक अवसर सिर्जना गर्न ग्रस र नेट दुवैतर्फ पुरस्कारको व्यवस्था गरिएको थियो।
हिमालयन ओपनलाई शेर्पा फाउन्डेसनसँगै डेन्फे फाउन्डेसन र डा. दिपेन कडारियाले प्रायोजन गरेका थिए। कुल पुरस्कार राशि ४२,००० डलरभन्दा बढी रहेको पेम्बा तेन्जिङ शेर्पाले जानकारी दिए। चार होल-इन-वन अवसरका लागि २०,००० डलर छुट्याइएको थियो, जसमा प्रत्येक अवसरको पुरस्कार ५,००० डलर थियो। समग्र ग्रस च्याम्पियन र समग्र नेट च्याम्पियनले जनही ३,००० डलर प्राप्त गरे। करिब २५ वटा फ्लाइट तथा विशेष उपलब्धि पुरस्कार प्रदान गरियो, जसको राशि ३०० देखि १,००० डलरसम्म रहेको थियो।
पुरस्कारभन्दा ठूलो उपलब्धि विभिन्न राज्य, देश, पेसा, पुस्ता र पृष्ठभूमिका ११० भन्दा बढी गल्फरहरू एउटै नेपाली प्रवासी समुदायका रूपमा एउटै गल्फ कोर्समा उभिनु रहेको शेर्पाले बताए। गल्फ इमानदारी, अनुशासन, धैर्यता, सम्मान र खेल भावनामा आधारित खेल भएकाले यसले समुदायलाई बलियो बनाउन र दिगो सम्बन्ध निर्माण गर्न सक्ने उनको भनाइ छ।
भावी योजना
पहिलो संस्करणको उत्साहजनक प्रतिक्रियापछि आयोजकले सन् २०२७ अगस्टमा अझ भव्य हिमालयन ओपन गल्फ प्रतियोगिता आयोजना गर्ने योजना बनाएको छ। साथै, सन् २०२८ मा अमेरिकी–नेपाली प्रवासी गल्फ यात्रा नेपाल ल्याउने प्रस्ताव पनि अघि सारिएको छ।
सो यात्रामा विश्वकै सबैभन्दा उचाइमा रहेको गल्फ कोर्स रहेको मुस्ताङ, हिमाली दृश्यले घेरिएको पोखरा र काठमाडौंको ऐतिहासिक गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा समापन गर्ने योजना छ। यो केवल गल्फ खेल्ने विषय नभई प्रवासीलाई स्वदेश फर्काएर नेपालसँग जोड्ने, पुस्ता र देशहरूबीच मित्रता निर्माण गर्ने र खेललाई स्वदेश तथा विश्वभर फैलिएका नेपाली समुदायबीचको पुल बनाउने दृष्टिकोण रहेको शेर्पाले बताए।



