मुख्य सामग्रीमा जानुहोस्

शिक्षा र सुरक्षित भविष्यको खोजीमा पोर्चुगलबाट बेलायत पुगे झन्डै तीन हजार नेपाली

पोर्चुगल छाडेर बेलायत पुग्ने नेपालीको संख्या झन्डै तीन हजार रहेको अनुमान गरिएको छ। अधिकांशले बालबच्चाको उच्च शिक्षा र उज्ज्वल भविष्यकै लागि बेलायत रोजेका हुन्।

विश्वपत्र संवाददाता

· ३ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
शिक्षा र सुरक्षित भविष्यको खोजीमा पोर्चुगलबाट बेलायत पुगे झन्डै तीन हजार नेपाली
Online Khabar

बेलायत युरोपेली युनियन (ईयू) बाट बाहिरिने घडी नजिकिँदै गर्दा पोर्चुगलमा बस्दै आएका झन्डै तीन हजार नेपाली बेलायत सरेका छन्। उनीहरूले शिक्षा, करियर र परिवारको सुरक्षित भविष्यलाई मुख्य आधार बनाएर लन्डन, कोभेन्ट्रीलगायतका सहर रोजेका हुन्।

एनआरएनए पोर्चुगलका पूर्वअध्यक्ष कुबेर कार्की सन् २०२० अक्टोबरमा पोर्चुगल छाडेर लन्डन आएका हुन्। पोर्चुगलमा आफ्नो व्यवसाय राम्रै चलेको, नेपाली समाज एकताबद्ध रहेको र सामाजिक सुरक्षा पनि भएको उनले बताए। तैपनि छोराछोरीको भविष्यलाई हेरेर अंग्रेजी भाषा बोलिने बेलायत आउने निर्णय भएको उनको भनाइ छ।

कार्की एनआरएनए युगाण्डाका संस्थापक अध्यक्ष पनि हुन्। उनी नेपालमै रहँदादेखि आतिथ्य क्षेत्रमा आबद्ध थिए र कतार, कुबेत, इराक तथा अफ्रिकामा लामो समय बिताएका थिए। हाल उनी लन्डनस्थित म्यारियट क्यानरी वार्फमा फुड एन्ड बेभरेज म्यानेजरका रूपमा कार्यरत छन्। यसअघि उनले इन्टर कन्टिनेन्टलमा पनि काम गरेका थिए। कार्कीका अनुसार बेलायतमा सीप भएकाहरूका लागि अवसर धेरै छन् र पोर्चुगलबाट आएका अधिकांश साथीहरू जागिर तथा साना उद्यममा आबद्ध भएका छन्। उनी लन्डनको वेलिङमा बस्छन्।

कोभेन्ट्री नेपाली समाजका ट्रष्टी एवं निवर्तमान महासचिव बाबुराम भुसाल सन् २०१८ मा पोर्चुगलबाटै बेलायत आएका हुन्। पोर्चुगलको मौसम र जीवनशैली आफूलाई उत्तिकै राम्रो लागे पनि छोराछोरीको उच्च शिक्षाका लागि अंग्रेजी माध्यम भएको बेलायत रोजेको उनले बताए। गायकका रूपमा पनि परिचित भुसाल परिवारसहित कोभेन्ट्रीमा बसोबास गर्छन्।

भुसालकै अनुसार पोर्चुगलबाट बसाइँ सरेर कोभेन्ट्रीमा बस्ने नेपाली परिवार करिब दुई सय छन्। वेष्ट मिडल्याण्ड्समा रहेको यो ऐतिहासिक सहर अटोमोटिभ विरासत र आधुनिक तथा भग्नावशेषमा परिणत क्याथेड्रलका लागि प्रसिद्ध छ।

बेलायतवासी एनआरएनए आईसीसी प्रवक्ता तथा पर्यटन प्रवर्द्धन समिति संयोजक सोमनाथ सापकोटाका अनुसार ब्रेक्जिटअघि नै पोर्चुगलबाट बेलायत सरेका नेपालीको संख्या झन्डै तीन हजार रहेको अनुमान छ। करियरका अवसर, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवामा पहुँच, विविध समुदाय र परिवारका लागि सुरक्षित भविष्य देखेर उनीहरू बेलायत आएको उनले बताए।

पोर्चुगिज नागरिकता लिएपछि धेरै नेपाली अन्य युरोपेली मुलुकमा पनि सरेका छन्। सापकोटाका अनुसार हाल संयुक्त अधिराज्यमा पोर्चुगिज नेपालीको संख्या करिब तीन हजार रहेको बुझिएको छ भने डेनमार्क, नर्वे, बेल्जियम र जर्मनीमा समेत नेपालीहरू पुगेका छन्।

सन् १९९९ मा पोर्चुगलमा करिब दस जना नेपाली मात्र थिए। अहिले त्यहाँ करिब ७० हजार नेपाली बसोबास गर्ने सापकोटा बताउँछन्। उनीहरूमध्ये अधिकांश कृषि र होटल व्यवसायमा संलग्न छन्। सन् २००८ सम्म पोर्चुगल बसेपछि डेनमार्क हुँदै बेलायत आएका सापकोटा पोर्चुगलको नेपाली समुदायको यात्राले युरोपभरि नेपाली–पोर्चुगिज डायस्पोरा निर्माण गरेको बताउँछन्।

बेलायतमा बसोबास अधिकारका लागि युरोपेली संघका नागरिकहरूलाई ‘ईयू सेटलमेन्ट स्किम’ उपलब्ध गराइएको थियो। ३१ डिसेम्बर २०२० अघि बेलायतमा बसिरहेका युरोपेली संघका नागरिकले यस मार्फत आफ्नो बसोबास अधिकार सुनिश्चित गर्न पाउने व्यवस्था थियो भने आवेदनको अन्तिम मिति ३० जुन २०२१ तोकिएको थियो। लगातार पाँच वर्ष बेलायतमा बसेका युरोपेली संघका नागरिकलाई ‘सेटल्ड स्टाटस’ दिइएको छ, जसले स्थायी बसोबास र काम गर्ने अनुमति दिन्छ।

संगठित हुँदै नेपाली–पोर्चुगिज समुदाय

साझा पहिचानको संरक्षण र सामुदायिक सम्बन्धलाई अझ मजबुत बनाउन ‘नेपलिज पोर्चुगिज इन यूके’ का सदस्यहरूले वार्षिक भेला आयोजना गर्दै आएका छन्। यसले युरोपभरि छरिएका परिवार र साथीभाइलाई एकै ठाउँमा जोड्ने काम गरेको छ।

यसै क्रममा समुदायले अगस्टको पहिलो साता वेष्ट मिडल्याण्ड्सस्थित उल्भरह्याम्प्टनमा चौथो वार्षिक ‘नेपलिज पोर्चुगिज भेला’ आयोजना गरेको थियो। सो भेलामा संयुक्त अधिराज्य, पोर्चुगल, डेनमार्क, नर्वेलगायत अन्य युरोपेली देशका सहभागीहरू सामेल भएका थिए।

उक्त भेलाले युरोपभरिको नेपाली डायस्पोराको एकता र मित्रता झल्काएको सापकोटाले बताए। कार्यक्रममा परम्परागत नेपाली खाना, सांस्कृतिक प्रस्तुति, खेलकुद गतिविधि, पारिवारिक मनोरञ्जन र सामुदायिक अन्तरक्रियामार्फत नेपाली पहिचान तथा नेपाली भाषा, परम्परा र मूल्य–मान्यतालाई युवा पुस्तासमक्ष पुर्‍याउने प्रयास भएको समूहको दाबी छ।