अस्ट्रेलियामा रहेका नेपाली समुदायले यसवर्षको भाइटीका हर्षोल्लासका साथ मनाएका छन् । स्थानीय समयअनुसार बिहान करिब ११ बजेदेखि नै टीका लगाउने क्रम सुरु भएको थियो र दिनभर विभिन्न ठाउँमा दाजुभाइ तथा दिदीबहिनीबीच भेटघाट भइरह्यो ।
केही परिवारले बिहानै शुभसाइत हेरेर भाइटीका लगाए भने केहीले भने कामको चापका कारण दिन सकिएपछि साँझतिर मात्र दाजुभाइलाई टीका लगाएर पर्व मनाएका छन् । नेपालमा जस्तो सार्वजनिक बिदा र पारिवारिक जमघटको सहजता अस्ट्रेलियामा नभए पनि आआफ्नो व्यस्त दिनचर्याबीच समय झिकेर नेपालीहरूले चाडलाई प्राथमिकता दिएका हुन् ।
भाइटीकाकै कारण दाजुभाइ र दिदीबहिनीसँग भेट्न अस्ट्रेलियाका विभिन्न सहरबीच यात्रा गर्ने नेपालीको संख्या पनि उल्लेख्य रह्यो । कतिपयले आफ्ना दाजुभाइ भएको सहरसम्म पुगेर टीका लगाएका छन् भने कतिपयले दिदीबहिनी भेट्न यात्रा तय गरेका छन् ।
एडिलेडमा बस्ने गोमा ढुंगेल आफ्ना जेठा दाजुसँगै क्यानबेरा पुगिन् । क्यानबेरामा रहेकी आफ्नी दिदीलाई भेटेर परिवारसँगै भाइटीका मनाउन उनीहरू एडिलेडबाट त्यहाँ पुगेका थिए । त्यस्तै शिवा निरौला आफ्ना जेठा दाजुलाई भेट्न ब्रिसबेन पुगिन् भने मेलबर्नमा बस्दै आएकी शर्मिका अधिकारी आफ्ना भाइसँग भाइटीका मनाउन सिड्नी पुगेकी थिइन् ।
भौगोलिक दूरी र दैनिकीको व्यस्तताका बाबजुद परिवारका सदस्यलाई भेट्न सहर-सहर यात्रा गर्ने नेपालीहरूको उत्साहले प्रवासमा पनि भाइटीकाको सांस्कृतिक तथा पारिवारिक महत्त्व उत्तिकै जीवन्त रहेको देखाएको छ ।







