साउदी अरबको गृह मन्त्रालयले घरेलु कामदारलाई अन्य रोजगारदाताकहाँ वा आफ्नै पहलमा काम गर्न छुट दिने व्यक्तिगत रोजगारदातालाई कडा सजायको भागीदार बनाउने व्यवस्था सार्वजनिक गरेको छ। मन्त्रालयका अनुसार यस्तो कसुरमा संलग्न रोजगारदातालाई बढीमा एक लाख साउदी रियाल अर्थात् करिब ३६ लाख रुपैयाँसम्म जरिवाना लाग्नेछ।
आइतबार जारी भएको सूचनामा जरिवानासँगै छ महिनासम्म कैद र पाँच वर्षसम्म नयाँ श्रमिक भर्ना गर्न नपाउने प्रतिबन्धसमेत तोकिएको छ। आवासीय अनुमति (इकामा) सम्बन्धी श्रम तथा सीमा सुरक्षा नियम नउल्लंघन गर्न मन्त्रालयले रोजगारदातालाई सचेत गराएको छ।
आफ्नो कामदारलाई अर्को रोजगारदाताका लागि खटाउनु वा उसैले अन्यत्र व्यक्तिगत रूपमा काम गर्न पाउने गरी अनुमति दिनु नियमविपरीत मानिने मन्त्रालयको भनाइ छ। यस्ता गतिविधि भएको जानकारी पाएमा सम्बन्धित निकायमा खबर गर्न मन्त्रालयले आम नागरिकसँग पनि अनुरोध गरेको छ।
उजुरीका लागि मक्का, मदिना, रियाद र पूर्वी प्रान्तमा ९११ नम्बरमा र साउदी अरबका बाँकी क्षेत्रमा ९९९ नम्बरमा फोन गर्न सकिने जनाइएको छ।
व्यक्तिगत रोजगारदातामार्फत काम गर्ने विदेशी श्रमिक, विशेषगरी घरेलु कामदारका लागि यो निर्णय महत्त्वपूर्ण मानिएको छ। आफ्नो रोजगारदाताबाहेक अन्यत्र काम गरेमा कामदार र रोजगारदाता दुवैले कानुनी कारबाही सामना गर्नुपर्ने भएकाले मन्त्रालयले नियम पालना गर्न आग्रह गरेको हो।







