एक समय दक्षिण एसियामा टायर निर्यात गर्ने प्रमुख उद्योगका रूपमा चिनिएको गोरखाकाली रबर उद्योगलाई पुनः सञ्चालनमा ल्याउने विषयमा अध्ययन सुरु भएको छ। सन् २०१५ देखि बन्द रहेको सो उद्योगको पुनर्सञ्चालन सम्भावनाबारे छानबिन गर्न सरकारी टोली मैदानमा उत्रिएको हो।
गोरखा–२ का सांसद कबीन्द्र बुर्लाकोटीको नेतृत्वमा अर्थ, उद्योग र कानुन मन्त्रालयका प्रतिनिधि तथा विज्ञहरू सहभागी टोलीले आइतबार गोरखा नगरपालिका–१३ को माबुहवालमा रहेको उद्योगको निरीक्षण गरेको छ।
बुर्लाकोटीका अनुसार सरकारी स्वामित्वको उद्योगलाई पुनः सञ्चालनमा ल्याउन सकिने÷नसकिने भन्ने विषयमा कानुनी तथा आर्थिक सम्भावनाको परीक्षण गर्न यो भ्रमण गरिएको हो। पुनर्सञ्चालनका लागि आर्थिक प्रस्ताव पनि चाँडै तयार पारिने उनले बताएका छन्।
स्थापना र इतिहास
चीन सरकारको सहयोगमा सन् १९८४ मे ३० मा स्थापना भएको यो उद्योगले सन् १९९३ मा व्यावसायिक उत्पादन थालेको थियो। एक समय यसले स्वदेशी बजारमा टायर तथा ट्युबको मागको ठूलो हिस्सा पूरा गर्दै भारत, बंगलादेश, श्रीलंकालगायत दक्षिण एसियाली मुलुकमा निर्यात गर्दै आएको थियो।
उत्पादन क्षमता र लगानी
उद्योगको वार्षिक उत्पादन क्षमता करिब ८८ हजार टायर रहेको थियो। ट्रक, जिप, भ्यान र कारका लागि विभिन्न प्रकारका टायर उत्पादन गर्ने यो उद्योगको उत्पादन नेपालका प्रमुख सहरका डिपोमार्फत वितरण हुने गरेको थियो। करिब ६७० रोपनी क्षेत्रफलमा फैलिएको उद्योगमा सरकार, व्यक्ति तथा विभिन्न संस्थाहरूको लगानी रहेको थियो।
बन्द र पुनर्सञ्चालन प्रयास
उद्योग सन् २०१५ मार्च २३ मा पूर्ण रूपमा बन्द भएको थियो। त्यसयता यहाँका मेसिनरी र भौतिक पूर्वाधार लगभग प्रयोगविहीन अवस्थामा छन्। लामो समयदेखि बन्द रहेका औद्योगिक सम्पत्तिलाई पुनः उत्पादनमा ल्याउन सकिने÷नसकिने भन्ने निक्र्योल गर्नका लागि पछिल्लो अध्ययन सुरु गरिएको हो। कानुनी तथा आर्थिक सम्भावनाको आकलन गरेपछि टोलीले थप छलफल अघि बढाउने अपेक्षा गरिएको छ।



