मुख्य सामग्रीमा जानुहोस्

सडक मर्मत बजेट : पाँच वर्षमा ६८ अर्ब विनियोजन, आधा मात्र खर्च

महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनले पाँच वर्षमा सडक मर्मतका लागि विनियोजित ६८ अर्ब ७४ करोड रुपैयाँमध्ये करिब ३७ अर्ब ९० करोड मात्र खर्च भएको देखाएको छ । बजेट निकासा र खर्चबीचको अन्तरले सडक सञ्जालको गुणस्तर सुधार हुन…

विश्वपत्र संवाददाता

· ३ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
सडक मर्मत बजेट : पाँच वर्षमा ६८ अर्ब विनियोजन, आधा मात्र खर्च
Online Khabar

काठमाडौं, ४ भदौ । सडक मर्मत तथा सुधारमा वर्षेनि अर्बौं रुपैयाँ छुट्याइए पनि बजेट खर्च हुन नसक्दा सडकको अवस्था सुधार हुन नसकेको महालेखा परीक्षकको कार्यालयको कार्यमूलक लेखा परीक्षण प्रतिवेदनले देखाएको छ ।

प्रतिवेदनअनुसार पछिल्लो पाँच वर्षमा सडक बोर्डले रणनीतिक तथा स्थानीय सडकको मर्मत सम्भारका लागि ६८ अर्ब ७४ करोड रुपैयाँ विनियोजन गरेको छ । सो रकममध्ये ५५ अर्ब ९६ करोड निकासा भएको छ । खर्च भने ३७ अर्ब ९० करोड रुपैयाँ हाराहारीमा मात्र भएको पाइएको छ । यस आधारमा विनियोजित बजेटको ८१.४० प्रतिशत निकासा हुने गरे पनि खर्च ६७.७२ प्रतिशतमा सीमित देखिएको हो ।

सडक सञ्जाल बढ्दै जाँदा मर्मतका लागि बजेटको आधार घट्दै गएको महालेखाले जनाएको छ । सम्बन्धित निकायबीच समन्वय नहुनु, बजेट थोरै छुट्याइनु, योजना स्वीकृति, ठेक्का प्रक्रिया र भुक्तानीमा ढिलाइ हुनुले स्वीकृत बजेट लक्ष्यअनुसार खर्च हुन नसकेको प्रतिवेदनमा उल्लेख छ । नियमित मर्मतको योजना नबन्दा सडक जीर्ण हुँदै गएको र पुनर्निर्माणको दायित्व बढेको निष्कर्षसमेत छ । यसले सडक दुर्घटनाको जोखिम बढाइरहेको महालेखाको भनाइ छ ।

रणनीतिक सडकमा समेत खर्च ६० प्रतिशतमा सीमित

सरकारले रणनीतिक र स्थानीय भनेर छुट्याएर सडक मर्मत गर्ने गरेको छ । रणनीतिक सडकतर्फ सडक विभागलाई पाँच वर्षमा ५६ अर्ब ३६ करोड रुपैयाँ विनियोजन भएको थियो । जसमध्ये ४९ अर्ब ७४ करोड ६६ लाख रुपैयाँ निकासा भएको र ३० अर्ब १४ करोड रुपैयाँ मात्र खर्च भएको छ । यो विनियोजनको ६०.५९ प्रतिशत हुन आउँछ ।

रणनीतिक सडक मर्मतका लागि सडक विभाग र मातहतका महाशाखा, संघीय सडक अनुगमन तथा सुपरिवेक्षण कार्यालय, सडक डिभिजन कार्यालय, हेभी इक्विपमेन्ट डिभिजन र यान्त्रिक कार्यालयले सडक बोर्डमार्फत बजेट पाउँछन् । मर्मत गर्ने कार्यालयको संख्या ६३ सम्म पुगेको देखिए पनि खर्च भने न्यून छ । खर्च गर्ने निकाय बढ्दै जाँदा खर्च नबढ्नुलाई महालेखाले चिन्ताजनक अवस्थाका रूपमा उल्लेख गरेको छ ।

स्थानीय सडक मर्मतको खर्च विवरण भने सडक बोर्डले महालेखा परीक्षकको कार्यालयलाई उपलब्ध गराएको छैन । समयमै मर्मत हुन नसक्दा स्थानीय सडकको अवस्था कमजोर रहेको र यसले यातायात सेवा तथा जनसुरक्षामा प्रतिकूल असर पारेको प्रतिवेदनमा उल्लेख छ । सार्वजनिक स्रोतको प्रभावकारी उपयोग हुन नसकेको निष्कर्ष पनि निकालिएको छ ।

आवधिक मर्मत र पुनर्निर्माण उपेक्षित

नियमित, पटके, आवधिक, पुनर्स्थापना, पुनर्निर्माण, विशेष, आकस्मिक र सडक सुरक्षा गरी सडक मर्मतका कार्यलाई वर्गीकरण गरिएको छ । सडकको आयु बढाउनुपर्ने आवधिक मर्मत तथा पुनर्स्थापना र पुनर्निर्माणको प्रगति भने सन्तोषजनक छैन । नियमित र पटके मर्मत भने अधिकांश लक्ष्य भेट्टाउने गरेको देखिन्छ ।

पछिल्लो पाँच वर्षमा आवधिक मर्मतको प्रगति न्यूनतम ४२ देखि अधिकतम ७३ प्रतिशतको बीचमा रहेको छ । पुनर्स्थापना र पुनर्निर्माणमा पनि २१ देखि ७५ प्रतिशतसम्म मात्र काम भएको तथ्यांक छ । आव २०८१/८२ मा ७ हजार ९ सय ३८ किलोमिटर सडक नियमित र ३ हजार ९ सय २९ किलोमिटर सडक पटके मर्मत भएको छ । आवधिक मर्मतको ५ सय ५ किलोमिटर लक्ष्यमध्ये ३ सय ६९ किलोमिटरमा मात्र काम सम्पन्न भएको छ । पुनर्निर्माणतर्फ ७५ किलोमिटर लक्ष्य लिइएकामा ३९ किलोमिटर मात्र पूरा भएको छ ।

कानुनी कार्यान्वयन, जनशक्ति र भार व्यवस्थापनमा समस्या

सडक मर्मतसम्बन्धी कानुनको कार्यान्वयन हुन नसक्नु सबैभन्दा कमजोर पक्ष रहेको महालेखाको ठहर छ । मर्मत खर्च घटाउन कार्ययोजना बनाउने, सडक सुरक्षा आयोजनामा कोषको रकम खर्च गर्ने, सवारीसाधनको भारवहन मापदण्ड कार्यान्वयन गर्ने र नियम उल्लंघनमा जरिबाना गर्ने व्यवस्था व्यवहारमा लागू भएका छैनन् । सडक बोर्डमा स्थायी दरबन्दी २७ जना मात्र छ । संघीयतापछि स्थानीय तह बढ्दा कार्यबोझ थपिए पनि कर्मचारी थप नभएको प्रतिवेदनमा उल्लेख छ ।

त्रिभुवन राजपथ, महेन्द्र राजमार्गलगायतका राजमार्गमा क्षमताभन्दा बढी भार बोकेका सवारी चल्ने गरेको महालेखाले देखाएको छ । यसले सडक सतह र संरचनामा चिरा पर्ने, धसिने र खाल्डा भर्नुपर्ने समस्या ल्याउँछ । पुल मर्मतका लागि छुट्टै कार्यक्रम बनाउनुपर्ने व्यवस्था भए पनि कार्यान्वयन नभएको महालेखाको भनाइ छ । सडक सुरक्षामा पनि सानो अंशको बजेट मात्र छुट्याइने गरेकाले दुर्घटनाको जोखिम बढेको प्रतिवेदनले देखाएको छ ।

योजना र बजेट यथार्थपरक बनाउन, पूर्वतयारी सम्पन्न योजना मात्र कार्यक्रममा राख्न, खरिद र निकासा प्रक्रिया सहज बनाउन तथा कार्यान्वयन गर्ने निकायको क्षमता बढाउन महालेखाले सुझाव दिएको छ । आवधिक मर्मतलाई प्राथमिकता दिन, एकीकृत वार्षिक योजनालाई स्वचालित अनलाइन प्रणालीमा लैजान र सडक भार क्षमताको मापदण्ड प्रभावकारी बनाउन पनि भनिएको छ ।