मुख्य सामग्रीमा जानुहोस्

बीवाईडी सवारीमा एनसेलको आईओटी सिम, साइमेक्ससँग साझेदारी

एनसेल र बीवाईडीका आधिकारिक वितरक साइमेक्स इन्कबीच आईओटी सिममार्फत कनेक्टेड भेइकल सेवा साझेदारी भएको छ। नयाँ तथा पुराना दुवै बीवाईडी प्रयोगकर्ताले यसको लाभ लिन सक्नेछन्।

विश्वपत्र संवाददाता

· २ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Nagariknetwork

एनसेलले नेपालका लागि बीवाईडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इन्कसँग साझेदारी गरेको छ। यससँगै नेपालको बजारमा बिक्री हुने बीवाईडीका हरेक सवारी साधनमा एनसेलको आईओटी सिम जडान भई आउने भएको छ। यसले ग्राहकलाई डिजिटल रूपमा जोडिएको सहज ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ।

सहकार्यले नेपालको आईओटी नवप्रवर्तन क्षेत्रमा एनसेलको अग्रणी स्थानलाई थप सुदृढ पार्ने कम्पनीले विश्वास लिएको छ। कनेक्टेड प्रविधिको प्रयोगलाई विभिन्न क्षेत्रमा विस्तार गर्ने आफ्नो प्रतिबद्धताअनुरूप यो कदम चालिएको पनि बताइएको छ।

कसरी काम गर्छ आईओटी सिम ?

आईओटी सिम रहेका गाडीमा थप कुनै उपकरण नचाहिने र इन–भेइकल इन्टरनेट कनेक्टिभिटी सिधै उपलब्ध हुनेछ। यसबाट बीवाईडी एप इकोसिस्टम र कनेक्टेड इन्फोटेनमेन्टका सुविधा सञ्चालन हुनेछन्। फोन ब्लुटुथमार्फत जोड्नुपर्ने वा वाई–फाई हटस्पट खोज्नुपर्ने झन्झटबिना नै प्रयोगकर्ताले गाडीकै स्क्रिनबाट युट्युब, स्पोटिफाई, काराओकेलगायत अनलाइन सेवा चलाउन सक्नेछन्।

यी सुविधाको उपलब्धता भने सवारी साधनको मोडल, सफ्टवेयर र नेपालमा उपलब्ध सेवाहरूमा भर पर्नेछ। एनसेलको राष्ट्रव्यापी नेटवर्कबाट ग्राहकले फाइदा लिन सक्ने भए पनि कभरेज, स्थान र गाडीको कन्फिगरेसनअनुसार अनुभवमा फरक आउन सक्ने बताइएको छ।

सम्झौता हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले बीवाईडी सवारीमा स्मार्ट कनेक्टिभिटी, इन्फोटेनमेन्ट, सुरक्षा र इन्टेलिजेन्ट मोबिलिटीका सुविधा उपलब्ध हुने बताए। बीवाईडी एप र लोकप्रिय इन्फोटेनमेन्ट सेवाका लागि सवारीलाई सिधै जोड्न सकिने उनले बताए। बाहिरी हटस्पट वा मोबाइल डेटामा भर पर्नु नपर्ने भएकाले लोकल नेटवर्कमा जोडिँदा सडक वा ट्राफिक जामको अवस्थामा समेत भरपर्दो नेभिगेसनको सुविधा पाइने उनको भनाइ छ।

नयाँ र पुराना दुवै ग्राहकलाई सुविधा

यो साझेदारी नयाँ ग्राहकका लागि मात्र नभई पुराना बीवाईडी प्रयोगकर्ताका लागि पनि लाभदायक हुनेछ। पुराना सवारी भएकाले नेपालभर फैलिएका १३ बीवाईडी आधिकारिक सर्भिस सेन्टरमा गएर एनसेल आईओटी सिम जडान गराउन सक्नेछन्।

साइमेक्स इन्कका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले बीवाईडीले प्राविधिक नवप्रवर्तनमा अग्रणी भूमिका खेल्दै आएको उल्लेख गरे। एनसेलसँगको सहकार्यले ग्राहकको अनुभवलाई अझ उच्च बनाउन सकिने उनको विश्वास छ। भरपर्दो इन–भेइकल कनेक्टिभिटीले प्रयोगकर्तालाई बीवाईडी गाडीका बौद्धिक सुविधाहरूको पूर्ण अनुभव लिन मद्दत पुग्ने उनले बताए।

ग्राहकअनुसारको कनेक्टिभिटी प्लान, भ्यालिडिटी र लागत भने सवारी वा सेवा प्याकेजका आधारमा फरक हुनेछ।