टेक कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङले आफूले सम्हाल्दै आएका नेतृत्वसम्बन्धी पदहरूबाट राजीनामा दिएका छन्। महिलासँगको सम्बन्धका विषयमा उनी विवादमा परेका थिए। कम्पनीको सञ्चालक समितिले सोही विषयमा जानकारी दिँदै राजीनामाको पुष्टि गरेको हो।
सञ्चालक समितिका अनुसार अन्तरिम सीईओको जिम्मेवारी कोलेट क्रेसले सम्हाल्नेछिन्। उनले यसअघि कम्पनीमा कार्यकारी उपाध्यक्ष तथा प्रमुख वित्तीय अधिकृतका रूपमा काम गर्दै आएकी थिइन्।
कोलेटले एनभिडियालाई असाधारण वृद्धिको चरणसम्म डोर्याउन सहयोग गरेकी छन्। कम्पनीको व्यवसाय, ग्राहक, सञ्चालन तथा वित्तीय अवस्थाबारे उनलाई गहिरो जानकारी छ। — हार्भे जोन्स, सञ्चालक समिति सदस्य
सञ्चालक समितिका सदस्य हार्भे जोन्सले विज्ञप्तिमार्फत यस्तो प्रतिक्रिया दिएका छन्। कम्पनीका अनुसार जोन्स नै सञ्चालक समितिको पहिलो अध्यक्षका रूपमा समेत निर्वाचित भएका छन्।
विवाद के–कसरी सुरु भयो ?
दुई महिलासँग विवाहेत्तर सम्बन्ध रहेको विषय सार्वजनिक भएपछि हुआङको पद संकटमा परेको थियो। तीमध्ये एक महिला चिनियाँ जासुस हुन सक्ने दाबी पनि गरिएको थियो। केही दिनअघि एलिस हुआङसँगको विवाहेत्तर सम्बन्धको विषय बाहिरिएको थियो। त्यसपछि कम्पनीका कर्मचारीलाई पठाएको माफीपत्रमा उनले आफूबाट वैवाहिक निष्ठा भङ्ग भएको स्वीकार गरेको बताइएको छ। यो प्रकरण सार्वजनिक भएपछि एनभिडियाको सेयर मूल्यमा ठूलो गिरावट आएको छ।
कम्पनी र हुआङको पृष्ठभूमि
६३ वर्षीय हुआङ ताइवानमा जन्मिएका हुन्। सन् १९९३ मा उनी अमेरिकी प्रविधि कम्पनी एनभिडियाको सहसंस्थापक बनेका थिए। त्यसयता कम्पनीको नेतृत्व गर्दै उनले एनभिडियालाई खर्बौं डलर मूल्यको कम्पनी बनाउन सफल भएको बताइन्छ। प्रविधि क्षेत्रका ‘टेलर स्विफ्ट’ का रूपमा समेत चर्चा गरिने हुआङको अनुमानित कुल सम्पत्ति १४५ अर्ब अमेरिकी डलर (१०९ अर्ब पाउन्ड) रहेको बताइन्छ।
एनभिडिया अत्याधुनिक कम्प्युटर चिप उत्पादन गर्ने विश्वका अग्रणी कम्पनीमध्ये एक हो। कम्पनीका चिप भिडियो गेम, क्लाउड सर्भर र विशेषगरी एआई प्रविधिका लागि अत्यन्त महत्त्वपूर्ण मानिन्छन्। ४० खर्ब अमेरिकी डलरभन्दा बढी बजार मूल्य रहेको एनभिडिया विश्वकै दोस्रो मूल्यवान कम्पनी हो।







