भदौ ३, काठमाडौं — दीर्घ रावल नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर बनेका छन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सो जिम्मेवारी दिने निर्णय गरेको हो।
नियुक्तिअघि रावल बैंक सुपरिवेक्षण विभागको कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए। अब उनी आगामी पाँच वर्षका लागि डेपुटी गभर्नरको भूमिकामा रहनेछन्।
नेपाल राष्ट्र बैंक ऐन २०५८ मा केन्द्रीय बैंकमा दुईजना डेपुटी गभर्नर रहने प्रावधान छ। फागुन २०८२ देखि दुवै डेपुटी गभर्नरको पद रिक्त थियो। चैत २४ गते एक जना डेपुटी गभर्नरमा नियुक्ति भएपछि अर्को पद खाली रहेको थियो। रावलको नियुक्तिसँगै अब दुवै पद पूर्ति भएका छन्।


