काठमाडौंमा चलिरहेको कांग्रेसको १५औँ महाधिवेशनको बन्द सत्रले पार्टीको केन्द्रीय कार्यसमितिको सदस्य संख्या हालको १६४ बाट बढाएर २९७ पुर्याउने निर्णय गरेको छ । यो निर्णयसँगै पार्टीको केन्द्रीय संरचना अहिलेको भन्दा उल्लेख्य रूपमा फराकिलो हुने भएको छ ।
बन्द सत्रमा स्वीकृत नयाँ व्यवस्थाअनुसार कार्यसमितिमा सभापतिको पदपछि एक जना वरिष्ठ उपसभापति रहनेछन् । त्यसबाहेक चार जना उपसभापति थपिनेछन् । ती चारमध्ये एक महिला, एक समावेशी र दुई खुला कोटाबाट रहनेछन् ।
पदाधिकारी संरचनामा विस्तार
महाधिवेशनको बन्द सत्रले सहमहामन्त्रीको संख्या समेत १५ पुर्याएको छ । तीमध्ये ११ जना निर्वाचित र चार जना मनोनित हुनेछन् । निर्वाचित हुनेमध्ये आठ जना क्लस्टरबाट, एक जना अल्पसंख्यक कोटाबाट र दुई जना खुला कोटाबाट चुनिनेछन् ।
यसैगरी सबै क्लस्टरबाट सदस्यको संख्या पनि बढाइएको छ । कार्यसमितिको आकार विस्तार गर्ने निर्णयले पार्टीभित्रका विभिन्न समूह र तहको प्रतिनिधित्व बढ्ने अपेक्षा गरिएको छ ।







