सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान आकर्षित गर्न विभिन्न शुल्कमा छुट दिने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पार्किङ, ल्यान्डिङ र नेभिगेसन शुल्क पूर्ण रुपमा छुट दिने तथा ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो। यो सुविधा २०८५ भदौ मसान्तसम्म लागू हुनेछ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उक्त निर्णयले पोखरा–दुबईलगायत अन्य अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडान विस्तार गर्न तथा नयाँ वायुसेवा कम्पनीहरूलाई आकर्षित गर्न सहज हुने विश्वास व्यक्त गरे। उनले पर्यटन प्रवर्द्धन, हवाई पहुँच विस्तार र आर्थिक गतिविधिमा यसले महत्वपूर्ण टेवा पुग्ने बताए।
फ्लाई दुबईले आगामी असोज ७ गतेदेखि पोखरा–दुबई सीधा उडान सेवा सुरु गर्दैछ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार दुबई–पोखरा–दुबईको उडान तालिका स्वीकृत भइसकेको छ र टिकट बुकिङ खुला भइसकेको छ। यो उडानले पोखरादेखि दुबई भएर युरोप, अमेरिकालगायत विभिन्न देशमा जाने यात्रुलाई सहजता थपिने र यात्रा अवधि घट्ने उनले बताए।
सञ्चालनमा आएको तीन वर्ष बितिसक्दा पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तरदेशीय उडान हुन सकेको छैन। हालसम्म छिमेकी केही देशमा चार्टर उडानबाहेक नियमित उडान सुरु भएको छैन। झण्डै २२ अर्ब रुपैयाँ ऋणमा निर्माण भएको यो विमानस्थल हाल आन्तरिक उडानमा मात्र सीमित छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले गत जेठमा फ्लाई दुबईलाई दैनिक उडानको अनुमति दिएको थियो। सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने जनाएको थियो।
