२ भदौ, काठमाडौं। करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो बम्पर उपहार जित्ने व्यक्तिमा नेपाल प्रहरीका नायब निरीक्षक (सई) तुल पुडासैनी परेका छन्।
आन्तरिक राजस्व विभागले गत सोमबार यो उपहार सार्वजनिक गरेको थियो। साउन महिनामा यो दोस्रो उपहार घोषणा हो।
हाल बागमती प्रदेश प्रहरी गण, हेटौंडामा कार्यरत पुडासैनीको मोबाइलको कभर र सिसा मर्मतका क्रममा तिरेको ३५० रुपैयाँको कारोबार बम्पर उपहारका लागि छनोट भएको हो।
दोस्रो पाक्षिकअवधिमा दैनिक रूपमा एक/एक जना उपभोक्ता र सबै सहभागीमध्येबाट एक जनालाई बम्पर उपहारसहित गरी जम्मा १७ उपभोक्ता छनोट गरिएको थियो। तीमध्येबाट बम्पर उपहार पुडासैनीले पाएका हुन्।
मोबाइलको कभर र सिसा मर्मत गराउन दुई–तीनवटा पसल चहारेर आफू गणेश इलेक्ट्रोनिक्स एन्ड मोबाइल सर्भिस पुगेको उनले बताएका छन्। त्यही कारोबारमा १० लाख रुपैयाँको उपहार परेको थाहा पाउँदा आफू निकै खुसी भएको उनले अर्थ मन्त्रालयलाई जानकारी गराउँदै सुनाएका छन्।
आफूलाई सर्वत्र बधाईका सन्देश आइरहेको भन्दै उनले कारोबार गर्दा सबैले अनिवार्य रूपमा बिल लिन र दिनुपर्नेमा जोड दिएका छन्।







