यस वर्षको जनवरी १ देखि अगस्ट १५ सम्मको अवधिमा नेपालका ७४ जिल्लामा दुई हजार आठ सय ४४ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। स्वास्थ्य अधिकारीहरूले मनसुन र त्यसपछिको समयमा संक्रमण थप बढ्न सक्ने जनाएका छन्।
महामारी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तथ्याङ्क अनुसार, प्रदेशगत रूपमा गण्डकी प्रदेशमा सबैभन्दा बढी एक हजार १० संक्रमित देखिएका छन्। यस्तै कोशीमा ६७४, लुम्बिनीमा ४३५ र बागमतीमा ४२७ जनामा डेंगु भेटिएको छ। सुदूरपश्चिममा १२२ जना संक्रमित छन् भने मधेश र कर्णाली प्रदेशमा ८८/८८ जनामा संक्रमण पुष्टि भएको छ। यस वर्ष डेंगुका कारण दुई जनाको मृत्यु भएको पनि पुष्टि भएको छ।
जिल्लागत तथ्याङ्क हेर्दा बागलुङमा सबैभन्दा धेरै ४७० संक्रमित रहेका छन्। झापामा २०८, सुनसरीमा २०५, कास्कीमा १७८ र पाल्पामा १२६ जनामा डेंगु देखिएको छ। काठमाडौंमा ११५, गोरखामा १०१, तनहुँमा ९८, रुपन्देहीमा ७८ र ओखलढुंगामा ७६ जनामा संक्रमण पुष्टि भएको छ।
स्थानीय तहअनुसार बागलुङ नगरपालिकामा ३९५ जना संक्रमित छन्। भद्रपुर नगरपालिकामा १०६, धरान उपमहानगरपालिकामा ९० र इटहरी नगरपालिकामा ८८ जनामा डेंगु पुष्टि भएको छ।
ईडीसीडीले हरेक दुई सातामा डेंगुको अवस्थाबारे समीक्षा गर्दै आएको छ र संक्रमण बढी देखिएका क्षेत्रमा रोकथाम तथा नियन्त्रणका सुझाव दिइरहेको छ। महाशाखाले साउन, भदौ र असोजसम्म तीन महिने डेंगु सचेतना अभियानसमेत थालेको छ। अभियानमा लामखुट्टेका प्रजननस्थलको नियमित अनुगमन र व्यवस्थापनमा जोड दिइएको छ।
विश्व लामखुट्टे दिवस
यसै सन्दर्भमा नेपालले पनि अगस्ट २० मा विश्व लामखुट्टे दिवस मनाएको छ। यस वर्षको दिवसको नारा 'सानो टोकाइ, ठूलो खतरा' रहेको छ।
विश्वभरमा तीन हजार पाँच सयभन्दा बढी लामखुट्टेका प्रजाति रहेका छन्। तीमध्ये नेपालमा १६८ प्रजाति पहिचान भइसकेको ईडीसीडीले जनाएको छ। दिवसको पूर्वसन्ध्यामा स्वास्थ्य सेवा विभागका महानिर्देशक र अन्य सरोकारवालाको उपस्थितिमा ईडीसीडीले 'भेक्टर्स अफ पब्लिक हेल्थ इम्पोर्टेन्स अफ नेपाल: अ कन्ट्री प्रोफाइल' सार्वजनिक गरेको थियो।
उक्त प्रकाशनले नेपालमा देखिएका रोग सार्ने सङ्क्रमण फैल्याउने जीवहरूसम्बन्धी आधारभूत तथ्याङ्क तयार गरेको छ। डेंगु, मलेरिया, कालाजार, लिम्फेटिक फाइलेरियासिस र जापानी इन्सेफलाइटिसजस्ता रोगहरूको सन्दर्भमा यो पुस्तिका सहयोगी हुने अपेक्षा गरिएको छ।
स्वास्थ्य अधिकारीहरूले लामखुट्टेको टोकाइबाट बच्न, आफ्नो वरपर सफा राख्न र लामखुट्टे फैलिन सक्ने जमेको पानी खाली गर्न आग्रह गरेका छन्। मनसुन तथा मनसुनपछिको अवधिमा प्रजननस्थलको निगरानी र व्यवस्थापन जारी राख्नुपर्नेमा जोड दिइएको छ। “लामखुट्टेको टोकाइबाट बच्नुहोस्, वरपर सफा राख्नुहोस्,” भन्दै ईडीसीडीले तीन महिने सचेतना अभियानमा सबैको सहभागिता रहन आह्वान गरेको छ।






