टोकियो, ६ भदौ । जापानको चिबामा आगामी सेप्टेम्बरमा दोस्रो चिबा नेपाल सांस्कृतिक फेस्टिवल २०२६ आयोजना हुने भएको छ। गैरआवासीय नेपाली संघ जापान, चिबा क्षेत्रीय परिषद्को आयोजनामा चिबास्थित फुनाबाशी केइबाजोमा सेप्टेम्बर १९ र २० तारिखमा फेस्टिवल हुनेछ।
फेस्टिवलको मुख्य उद्देश्य जापानमा हुर्किरहेका दोस्रो पुस्ताका नेपाली बालबालिकालाई नेपाली पहिचान, संस्कृति र रीतिरिवाजसँग परिचित गराउनु रहेको छ। एनआरएनए चिबाका संयोजक राजनबाबु सुबेदीका अनुसार फेस्टिवलको नाम ‘सांस्कृतिक’ राख्नुको उद्देश्य जापानमै हुर्किएको दोस्रो पुस्तालाई नेपाली संस्कृति बुझ्न सहज बनाउनु हो। नेपाली संस्कृतिलाई जापानी समुदायसामु चिनाउने लक्ष्य पनि आयोजकको छ।
फेस्टिवलमा नेपाली तथा जापानी जातीय नृत्य र संस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिनेछ। जापानी ‘हिमावारी समुह’को सांस्कृतिक प्रस्तुति र मिनी चिडियाखाना फेस्टिवलका मुख्य आकर्षण हुने आयोजकले जनाएको छ। फेस्टिवल परिसरमा नेपाल चिनाउने बौद्ध स्तूप र परम्परागत ढुंगेधारा पनि निर्माण गरिनेछ।
यस आयोजनाले नेपालको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्याउने अपेक्षा गरिएको छ। संयोजक सुबेदीका अनुसार फेस्टिवलमा नेपालका ट्राभल एजेन्सीहरूले जापानी भाषामा तयार पारिएका नेपाल पर्यटनसम्बन्धी प्रचार सामग्री र पर्चा वितरण गर्नेछन्। चिबाबाट नेपालका लागि उपलब्ध प्रत्यक्ष हवाई उडानबारे जानकारी दिँदै जापानी नागरिकलाई नेपाल भ्रमणका लागि प्रोत्साहित गरिनेछ।
फेस्टिवलको अनुमानित खर्च करिब १ करोड येन हुने आयोजकले बताएको छ। फेस्टिवलमा गैरआवासीय नेपाली संस्था, व्यावसायिक प्रतिष्ठान र रेमिट्यान्स कम्पनीलगायतका २० वटा स्टल रहनेछन्। स्टलहरूमा विभिन्न जातका नेपाली पोशाक तथा बाजागाजाको प्रदर्शनीसमेत गरिनेछ।



