बञ्चरेडाँडामा फोहोर विसर्जनविरुद्ध स्थानीय उत्रिएका छन्। उनीहरूले काठमाडौं उपत्यकाबाट फोहोर लिएर आएका गाडीलाई एक घण्टा रोकेर विरोध जनाएका हुन्। गाउँभरि फैलिएको दुर्गन्ध र फोहोरको वैज्ञानिक व्यवस्थापन नहुनु आन्दोलनको मुख्य कारण बताइएको छ।
सिसडोल–बञ्चरेडाँडा फोहोर व्यवस्थापन सरोकार केन्द्रका अध्यक्ष निरञ्जन सन्जेलले विगतमा भएका सहमतिहरू पालना नभएकाले स्थानीय आन्दोलनमा होमिन बाध्य भएको बताए। उनका अनुसार बिहान गाडीलाई एक घण्टाका लागि रोकिएको थियो। माग सम्बोधन गर्न १५ दिनको समय दिइएको र सो अवधिभित्र काम नभए फोहोर खन्याउन नै रोक लगाइने चेतावनी उनले दिए। फोहोर र मानिस एउटै ठाउँमा बस्न नसक्ने उनको भनाइ छ।
स्थानीयका अनुसार फोहोरको लिच्चेड बगेर खोलामा मिसिएको छ। कुहिने र नकुहिने फोहोर नछुट्याइँदा २० वर्षका लागि तयार पारिएको ल्यान्डफिल साइटकै ड्याम्प लिच्चेडले भरिएको छ।
सन्जेलले प्रभावित क्षेत्रको जग्गा अन्तर्राष्ट्रिय मापदण्डबमोजिम अधिग्रहण गर्नुपर्ने, लिच्चेडको व्यवस्थापन गर्नुपर्ने, स्थानीयको स्वास्थ्य र शिक्षाका लागि विशेष योजना बनाउनुपर्ने र रोजगारीको प्रबन्ध गर्नुपर्ने माग राखेका छन्। १५ दिनभित्र यी माग पूरा नभए फोहोर विसर्जन रोकिने उनको चेतावनी छ।
काठमाडौं उपत्यकासहित २१ वटा पालिकाको फोहोर सिसडोल–बञ्चरेडाँडा पुर्याउने गरिएको छ। २० वर्षका लागि तयार भएको ल्यान्डफिल साइटमा फोहोरको चुली बनिसकेको छ। बञ्चरेडाँडा अहिले सिसडोलकै जस्तो डम्पिङ साइट बनेको छ।
धादिङको धुनिवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाको सिमानामा पर्ने बञ्चरेडाँडामा विगत चार वर्षदेखि फोहोर फालिँदै आएको छ। त्यसअघि १७ वर्षसम्म सिसडोल ल्यान्डफिल साइटमा फोहोर खसालिन्थ्यो।
फोहोरका कारण क्यान्सर, मुटु र मिर्गौलाजस्ता गम्भीर रोगका बिरामी गाउँमा भेटिने गरेका छन्। झाडापखाला, टाइफाइड, श्वासप्रश्वास र छालासम्बन्धी रोग लिएर घरैपिच्छे बिरामी रहेको स्थानीय बताउँछन्। फोहोरको असरले अनाज उत्पादन घटेको र पशुपंक्षी पालनसमेत प्रभावित भएको उनीहरूको गुनासो छ।







