मुख्य सामग्रीमा जानुहोस्

बैतडीको रातापानीमा पहिरोले बगायो खेत, सात परिवार विस्थापित

बैतडीको सुर्नया गाउँपालिका–८ रातापानीमा निरन्तर खसिरहेको पहिरोका कारण सात परिवार विस्थापित भएका छन् । पहिरोले करिब २५ रोपनीमा लगाइएको मकैसहितको खेत बगाएको छ भने थप १९ घर जोखिममा रहेको स्थानीय बताउँछन् ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
बैतडीको रातापानीमा पहिरोले बगायो खेत, सात परिवार विस्थापित
Online Khabar

बैतडीको सुर्नया गाउँपालिका–८ रातापानीमा पहिरो अझै थामिएको छैन । लगातार खसिरहेको पहिरोले खेत बगाउँदै गएपछि सात परिवार पूर्णरूपमा विस्थापित भएका छन् । करिब २५ रोपनी क्षेत्रफलमा लगाइएको मकैसहितको बालीसमेत नष्ट भएको छ ।

रातापानीकै गम्भीरसिंह बोहराको परिवार दस दिनदेखि आफ्नै घरमा रात बिताउन पाएको छैन । घर नजिकैबाट निरन्तर पहिरो खस्न थालेपछि उनीहरू विस्तारै छिमेकीको घरमा आश्रय लिन बाध्य छन् ।

उनका अनुसार परिवारको गुजारा चलाउने एक मात्र आधार १३ रोपनी खेत पहिरोले पूरै बगाएको छ । सोही खेतमा वर्षेनि तीन बाली लाग्ने र पाँच क्विन्टल मकै उत्पादन हुने गरेको उनले बताए । बेरोजगार रहेका गम्भीरसिंहको पाँच सन्तानसहित सात जनाको परिवार छ । उनले अब परिवार पाल्ने आधार नै समाप्त भएको गुनासो गरे ।

रातापानीमा साउन २६ गतेदेखि पहिरो खस्न थालेको हो । स्थानीय रामसिंह बोहराका अनुसार पानी पर्नासाथ जोखिममा रहेका परिवार घर छाडेर सुरक्षित स्थानतर्फ जानुपर्ने अवस्था छ ।

अर्का स्थानीय कृष्ण बोहराले २०७८ सालदेखि नै यहाँ पहिरो खस्दै आएको र यस वर्ष झनै ठूलो रूप लिएको बताए । उनका अनुसार हालसम्म सात परिवार विस्थापित भइसकेका छन् भने अन्य १९ घर जोखिममा छन् ।

पहिरो नियन्त्रणमा नआए स्थानीय नदी नै थुनिन सक्ने जोखिम पनि देखिएको छ । वर्षौंदेखि घर र खेत बग्दै गएपछि स्थानीयले बस्ती नै सुरक्षित स्थानमा सार्न माग गर्दै आएका छन् । स्थानीय लालबहादुर बोहरा पहिरो नियन्त्रण हुने सम्भावना नदेखिएकाले बस्ती नै सार्नुपर्ने बताउँछन् ।

शुक्रबार प्रमुख जिल्ला अधिकारी मिना अर्यालको नेतृत्वमा पुगेको टोलीले पहिरो प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेको थियो । अनुगमनपछि उनले तथ्यांक संकलन भइसकेको र सात विस्थापित परिवारलाई तत्काल सुरक्षित स्थानमा सार्ने व्यवस्था मिलाउने बताइन् । मानिसको ज्यान बचाउने काम नै पहिलो दायित्व भएको उनको भनाइ छ ।

सुर्नया गाउँपालिकाले पनि थप जोखिम न्यूनीकरणका लागि पूर्वतयारी थालेको छ । प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले जोखिमयुक्त बस्तीको सुरक्षा र सम्भावित क्षति कम गर्न आवश्यक तयारी भइरहेको बताए ।