भदौ ६, काठमाडौं । वैदेशिक रोजगारीको नाममा आकर्षक तलबको प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। शुक्रबार काठमाडौंका विभिन्न स्थानबाट उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१२ घर भई हाल काठमाडौं महानगरपालिका–३२ बस्दै आएका ३७ वर्षीय नविन लामा र सल्यानको शारदा नगरपालिका–२ घर भई काठमाडौं महानगरपालिका–३२ मा बस्ने ५० वर्षीय रमेश रेउले रहेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले लामालाई काठमाडौं महानगरपालिका–२६ र रेउलेलाई महानगरपालिका–२९ बाट पक्राउ गरेको हो। प्रहरीका अनुसार लामाले मलेसिया पठाइदिने भन्दै तीन जना पीडितबाट १४ लाख रुपैयाँ लिएका थिए भने रेउलेले अमेरिका पठाइदिने भन्दै एक जना पीडितबाट ३ लाख रुपैयाँ लिएका थिए। रकम बुझेपछि दुवै सम्पर्कविहीन भएको पीडितको उजुरीमा उल्लेख छ।
उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ।







