आफ्नै खेतमा व्यावसायिक माछापालन गरेर लाखौं कमाउन सकिन्छ भन्ने उदाहरण बनेका छन्, रावाबेँसी गाउँपालिका–५ दुबेकोलका तेजिन्द्र घिमिरे । गाउँपालिकाका वडा सदस्यसमेत रहेका घिमिरेले जनप्रतिनिधिको कामसँगै जिल्लाकै नमूना किसानको पहिचानसमेत बनाएका छन् ।
उनले पुर्ख्यौली खेती हुँदै आएको जग्गामा छ वटा माछापोखरी निर्माण गरेका छन् । नजिकैको खोलाबाट ल्याइएको पानीले ती पोखरी भरिन्छ । पोखरीमा ग्रास, कमन, रहु, नैनी र सिल्भर जातका माछा पालिएका छन् । अधिकांश समय उनी पोखरीमै बिताउँछन् र माछालाई चारो हाल्नेदेखि नियमित हेरचाह गर्नेसम्मको काम आफैं गर्छन् । जनप्रतिनिधि भएकाले बेलाबखत जनताका काममा समेत समय दिने उनले बताए ।
माछापालनको थालनी उनले २०७१ सालमै गरेका हुन्, जतिबेला पोखरीमा मुंग्री जातका भुरा राखिएको थियो । प्रारम्भिक प्रयासले सफलता दिएपछि २०७३ सालदेखि व्यावसायिक रूपमा माछापालन विस्तार गरेको उनको भनाइ छ ।
उत्पादित माछा अहिले पोखरीबाटै प्रतिकेजी ८०० रुपैयाँमा बिक्री हुने गर्छ । मासिक सरदर ६० केजी माछा बिक्री भइरहेको छ । कुनै महिना ३५ केजी मात्रै र कुनै महिना ८० केजीसम्म समेत माछा बिक्री हुने उनको अनुभव छ । माछा र माछाका भुरा दुवै बेच्दा वार्षिक ६ देखि ७ लाख रुपैयाँसम्म आम्दानी हुने उनले जानकारी दिए । माछाका भुरा भने तराईबाट ल्याएर यतै हुर्काएपछि बिक्री गर्ने गरिएको छ ।
माछाको माग बढी भएका ठाउँसम्म घिमिरे आफैं पुर्याउने गर्छन् भने धेरै ग्राहक फोन गरेर पोखरीमै आइपुग्ने उनले सुनाए । हलेसी, ऐसेलुखर्क र दिक्तेलबाट माछाको माग बढी आउने तर अधिकांश उत्पादन गाउँघरमै खपत हुने उनको भनाइ छ ।
माछापोखरी निर्माणमा करिब २३ लाख रुपैयाँ लगानी गरिएको घिमिरेले बताए । गतवर्ष प्रदेश सरकारबाट साढे तीन लाख रुपैयाँ अनुदान प्राप्त भएको थियो, जसबाट पोखरी मर्मत गरिएको छ ।





