डोल्पाको जगदुल्ला गाउँपालिकामा अब व्यावसायिक रूपमा याक चिज उत्पादन हुने भएको छ। कर्णाली प्रदेशको यो जिल्लामा पहिलोपटक व्यावसायिक याक चिज उत्पादन गर्न दुग्ध विकास संस्थान (डीडीसी) र गाउँपालिकाबीच शनिबार सम्झौता भएको हो।
सम्झौता जगदुल्ला–४ स्थित भालु व्यावसायिक चौरी फर्ममा चिज उद्योग सञ्चालन र उत्पादनका लागि भएको हो। सम्झौताबमोजिम डीडीसीले याक चिज उत्पादनसम्बन्धी तालिम तथा आवश्यक प्राविधिक सहयोग गाउँपालिकालाई उपलब्ध गराउनेछ। प्राविधिक सहयोगपछि नियमित रूपमा चिज उत्पादन गर्ने जिम्मेवारी गाउँपालिकाको हुनेछ भने उत्पादन गरेको चिज डीडीसीले खरिद गर्नेछ।
सम्झौतापत्रमा डीडीसीका महाप्रबन्धक डा. शरणकुमार पाण्डे र जगदुल्ला गाउँपालिकाका अध्यक्ष नारासिंह रोकायाले हस्ताक्षर गरेका छन्। डीडीसीका अनुसार सम्झौताको तुरुन्तै काठमाडौंबाट प्राविधिक टोली खटाएर उद्योग सञ्चालनको काम अघि बढाइनेछ।
महाप्रबन्धक पाण्डेले उक्त फर्मबाट वार्षिक करिब ३० टनसम्म याक चिज उत्पादन गर्न सकिने सम्भावना रहेको बताएका छन्। समुद्र सतहबाट करिब चार हजार मिटरभन्दा बढी उचाइमा रहेको यो क्षेत्र याक तथा चौरीपालनका लागि उपयुक्त मानिन्छ। डोल्पा देशमै धेरै चौरीपालन हुने जिल्लामध्ये एक हो।
स्थानीयहरूका अनुसार डोल्पाका चौरी र याकले यार्सागुम्बालगायत विभिन्न हिमाली वनस्पति चरेर खाने भएकाले यहाँ उत्पादन हुने चिजको गुणस्तर र स्वादमा समेत विशेषता रहने अपेक्षा गरिएको छ। कर्णालीमै पहिलोपटक व्यावसायिक याक चिज उत्पादन सुरु हुनुले चौरीपालनलाई व्यवसायसँग जोड्नुका साथै स्थानीय उत्पादनको बजारीकरण र किसानको आम्दानी बढाउनसमेत सहयोग पुग्ने देखिएको छ।







