जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा बाढीपहिरोबाट विस्थापित भएकाहरूलाई राख्न मकैबारी नै फाँडेर अस्थायी सेल्टर बनाउन थालिएको छ। पहिरोका कारण घरबास गुमाएका तथा जोखिममा परेका १६८ घरधुरीका ८९७ जनालाई तत्काल सुरक्षित आवास दिने गरी तीन स्थानमा निर्माण कार्य अघि बढाइएको हो।
रिसाङ विद्यालय आसपास, विद्यालयभन्दा माथिको क्षेत्र र कल्याणपुरमा टेन्ट, त्रिपाल र प्लास्टिक प्रयोग गरेर अस्थायी संरचना खडा गर्ने तयारी छ। विस्थापित परिवारलाई वर्षायाममा खुला आकाशमुनि बस्न नदिनका लागि स्थानीयस्तरमै जग्गा व्यवस्थापन गरेर काम थालिएको बताइएको छ।
तीन स्थानमा सेल्टर
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) को प्राविधिक टोलीले गरेको स्थलगत अध्ययनपछि यी तीन स्थानलाई अस्थायी सेल्टरका लागि उपयुक्त ठहर्याइएको हो। टोलीले पहिरोको जोखिम, भू–बनोट, पानीको निकास र पहुँच मार्गजस्ता पक्ष हेरेर सुरक्षित स्थान छनोट गरेको थियो।
छनोट गरिएका कतिपय स्थानमा मकैबाली लगाइएको थियो। बाली तयार हुन नपाउँदै पहिरोले घरबास जोखिममा पारेपछि मकैबारी फाँडेर अस्थायी आवास बनाउन थालिएको स्थानीयले जनाएका छन्। विस्थापितको संख्या ठूलो भएकाले एउटै स्थानमा राख्न सम्भव नभएपछि उनीहरूलाई तीन स्थानमा विभाजन गरेर बसाल्न लागिएको हो।
अस्थायी सेल्टरका लागि आवश्यक जग्गा भाडामा लिने विषयमा जग्गाधनी र भेरी नगरपालिकाबीच सम्झौता भइसकेको प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले बताए। जग्गाको भाडा रकम भेरी नगरपालिकाले तिर्नेछ। स्थानीय तह, जिल्ला प्रशासन र प्राधिकरणको समन्वयमा सुरक्षित स्थान छनोट गरेर अस्थायी संरचना निर्माण थालिएको उनको भनाइ छ।
रिसाङमा गएको पहिरोमा चार जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। घर तथा भौतिक संरचनामा क्षति भएकाले प्रभावित परिवारलाई तत्काल सुरक्षित आवासको आवश्यकता परेको हो। लगातारको वर्षाले थप पहिरोको जोखिम बढेकाले विस्थापितलाई जोखिमयुक्त घरमा फर्काउन नसकिने स्थानीय प्रशासनले जनाएको छ।
अस्थायी सेल्टर निर्माणसँगै खानेपानी, शौचालय, विद्युत्, स्वास्थ्य सेवा, खाद्यान्न र सरसफाइको व्यवस्थापन पनि चुनौतीपूर्ण बनेको छ। ठूलो संख्यामा मानिस एकै स्थानमा बस्ने भएकाले संक्रामक रोग फैलिन नदिन सरसफाइ र स्वास्थ्य सेवामा विशेष ध्यान दिनुपर्ने देखिएको छ।
सडक र खानेपानी प्रभावित
यसैबीच, रिसाङमा पहिरो गएपछि रिसाङ–कुशे सडक अवरुद्ध भएको छ। यसले कुशे गाउँपालिकासँगको यातायात सम्पर्क प्रभावित बनाएको छ। गाउँपालिकाको मुख्य नाका नै बन्द भएको अवस्था सिर्जना भएको स्थानीय तहले जनाएको छ। सडक बन्द हुँदा दैनिक उपभोग्य वस्तु, खाद्यान्न र अत्यावश्यक सामग्रीको ढुवानीमा समस्या उत्पन्न भएको छ।
कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले प्राकृतिक विपत्तिका कारण गाउँपालिका नाकाबन्दीजस्तै अवस्थामा पुगेको बताए। मुख्य मार्ग अवरुद्ध हुँदा खाद्यान्नलगायत अत्यावश्यक सामग्री आपूर्तिमा कठिनाइ थपिएको उनको भनाइ छ।
बाढीपहिरोले सडक मात्र नभई खानेपानीका संरचनामा पनि क्षति पुर्याएको छ। पहिरोले खानेपानीका पाइप बगाएपछि जाजरकोट सदरमुकाममा नियमित पानी आपूर्ति प्रभावित भएको छ। पर्याप्त पानी नपाएको स्थानीय बासिन्दाको गुनासो छ। पहिरोका कारण बस्ती विस्थापन, सडक अवरोध र खानेपानी समस्यासँगै ग्रामीण क्षेत्रदेखि सदरमुकामसम्म अत्यावश्यक सेवा व्यवस्थापनमा चुनौती देखिएको छ।
विस्थापित नागरिकले अस्थायी टेन्टमा लामो समय बस्न नसकिने बताएका छन्। उनीहरूले तत्कालका लागि सुरक्षित सेल्टरसँगै दीर्घकालीन रूपमा सुरक्षित स्थानमा पुनर्स्थापनाको माग गरेका छन्। पहिरोको जोखिम कायमै रहेकाले पुरानै स्थानमा फर्केर बस्ने अवस्था नरहेको स्थानीयको भनाइ छ। राहत, पुनर्स्थापना र पूर्वाधार पुनर्निर्माणका लागि सरकारका तीनै तहबीच प्रभावकारी समन्वय हुनुपर्ने उनीहरूको माग छ।







