पश्चिम स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मा निर्माणाधीन अस्पतालको भवन तोकिएको समयमा बन्न नसक्ने देखिएपछि स्थानीयवासी निराश भएका छन्। सदरमुकामदेखि भौगोलिक रूपमा टाढा रहेको यस क्षेत्रमा संघीय सरकार र गाउँपालिकाको साझेदारीमा करिब २२ करोड रुपैयाँ लगानीमा कालीगण्डकी अस्पताल निर्माण भइरहेको छ।
आयोजना निर्धारित समयमा सम्पन्न नहुँदा स्थानीयले सहज स्वास्थ्य सेवाका लागि अझै पर्खनुपर्ने अवस्था छ। २०७९ सालमा दुई वर्षभित्र भवन सम्पन्न गर्ने लक्ष्य राखेर आर एन्ड सी एस–बेकन जेभीले निर्माणको जिम्मा पाएको थियो। सम्झौताको अवधि सकिइसक्दा पनि निर्माण अधुरै छ।
निर्माण कम्पनीका इन्जिनियर राहुल बैद्यका अनुसार वैदेशिक रोजगारीका कारण स्थानीयस्तरमा दक्ष कामदारको अभाव हुँदा निर्माण कार्य प्रभावित भएको हो। उनले कामदार व्यवस्थापनमै समस्या देखिएकाले निर्माणले अपेक्षित गति लिन नसकेको बताए।
नयाँ भवन बनेपछि स्याङ्जासहित छिमेकी जिल्ला गुल्मी र पर्वतका नागरिकले पनि यहीँबाट स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको छ। हाल भने अस्पताल सानो र साँघुरो भवनबाट सञ्चालन भइरहेको छ। करोडौं रुपैयाँ लगानी भए पनि निर्माण नसकिँदा उपचारका लागि बाहिर जानुपर्ने बाध्यता कायमै रहेको स्थानीयवासी बताउँछन्।
निर्माणका क्रममा करिब १२ घरधुरीको जग्गा तथा संरचना प्रभावित भएको विषय पनि चुनौती बनेको छ। जग्गासम्बन्धी समस्या र अन्य अवरोधका कारण कामले गति लिन नसकेको बताइएको छ।
कालीगण्डकी गाउँपालिका–७ का वडा अध्यक्ष उमप्रसाद भट्टराईले स्थानीयस्तरमै स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले अस्पताल निर्माण थालिए पनि विभिन्न कारणले ढिलाइ भइरहेको बताए। उनले जग्गासम्बन्धी विवादसहित निर्माणका क्रममा देखिएका समस्या समाधान गरेर कामलाई गति दिनुपर्ने आवश्यकता औंल्याए। गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध भए पाल्पा, पोखरा जस्ता सहरमा उपचारका लागि धाउनु नपर्ने उनको भनाइ छ।
नयाँ भवन तयार भएपछि हाल साँघुरो संरचनाबाट चलिरहेको अस्पताललाई स्थानान्तरण गरी थप सहज र गुणस्तरीय सेवा दिन सकिने अपेक्षा छ। त्यसका लागि जग्गा विवाद र निर्माणका अन्य समस्या तत्काल समाधान गरी आयोजना समयमै सम्पन्न गर्न सम्बन्धित निकायले प्रभावकारी पहल गर्नुपर्ने स्थानीयवासीको माग छ।







