मुख्य सामग्रीमा जानुहोस्

जङ्गबहादुरलाई सधैँ शंका हुने माहिला साहेबज्यू अन्ततः सम्धी बने

राजेन्द्रविक्रम शाहका छोरा माहिला साहेबज्यू उपेन्द्रविक्रम जङ्गबहादुरका लागि आजीवन शंकाको पात्र बने। उनलाई राजगद्दीमा राख्ने षड्यन्त्र, इलाहावादको नजरबन्द र पछि वैवाहिक सम्बन्धका कथा यहाँ छ।

विश्वपत्र संवाददाता

· ३ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
जङ्गबहादुरलाई सधैँ शंका हुने माहिला साहेबज्यू अन्ततः सम्धी बने
Online Khabar

नेपालको इतिहासमा राजा राजेन्द्रविक्रम शाह प्रायः निरीह राजाका रूपमा चिनिन्छन्। उनका दुई रानीबीचको हानाथाप र पारिवारिक द्वन्द्वले जङ्गबहादुर राणाजस्ता चालबाज शासकलाई सत्तामा उकास्ने काम गर्‍यो। त्यही सत्ताको खेलमा माहिला साहेबज्यू उपेन्द्रविक्रम शाह जङ्गबहादुरका लागि दीर्घकालीन शंकाको विषय बने। इतिहासमा उनले जङ्गबहादुरको मृत्युबारे गरेको भविष्यवाणीको चर्चा पनि पाइन्छ।

राजा राजेन्द्रका पाँच छोरामध्ये जेठी रानी साम्राज्यलक्ष्मीबाट सुरेन्द्र, उपेन्द्र र देवेन्द्र जन्मिए। कान्छी रानी राज्यलक्ष्मीबाट रणेन्द्र र वीरेन्द्र जन्मिए। कान्छा देवेन्द्रको बाल्यकालमै मृत्यु भयो, जसलाई बहाना बनाएर मुख्तियार भीमसेन थापालाई सत्ताच्युत गरियो र उनले आत्महत्याको बाटो रोजे। जङ्गबहादुरको उदयपछि राज्यलक्ष्मी र राजा राजेन्द्र बनारसतिर लागे। रणेन्द्र र वीरेन्द्र पनि उनीहरूसँगै गए। राजधानीमा युवराज सुरेन्द्र र माहिला साहेबज्यू उपेन्द्र मात्र बाँकी रहे। जङ्गबहादुरले सुरेन्द्रलाई राजा घोषित गरे भने राजेन्द्रलाई अलौबाट नियन्त्रणमा लिएर भक्तपुर दरबारमा आजीवन नजरबन्दमा राखे।

माहिला साहेबज्यूको स्वभाव भने उरन्ठेउलो थिएन। इतिहासका अध्ययनमा उनी गम्भीर र तन्त्रमन्त्रका साधक देखिन्छन्। जङ्गबहादुरले उनीबाट कुनै पनि बेला विद्रोह हुनसक्ने आशंका सधैँ पालेका थिए। आफ्नो बेलायत र युरोपको राजकीय भ्रमणका बेला उनले कार्यवाहक भाइ बमबहादुरलाई विभिन्न निर्देशन पठाउँथे। 'जंगगीता' मा प्रकाशित एउटा पत्रमा उनले माहिला साहेबज्यूसँग कोही पनि भेट नगर्ने व्यवस्था गर्न आदेश दिएका छन्। भेट्नेहरूमध्ये बाहुन वा पहाडीलाई त्रिशूली नदी कटाउने र मधेशीलाई सिसागढी कटाउनेसम्मको कडा नियम त्यसमा उल्लेख छ। सिसागढी भनेको यतिबेला भीमफेदीमाथिको चिसापानीगढी हुनसक्ने एक लेखकले अनुमान गरेका छन्।

शंकाका कारण र षड्यन्त्रहरू

उपेन्द्रविक्रमप्रतिको आशंकाका पछाडि इतिहासका घटना थिए। उनलाई राजा बनाउन सकिने चर्चा अघि नै चलेको थियो। आफ्नै बुबा राजेन्द्रले उनलाई पशुपतिनाथ र गुह्येश्वरीको साक्षीमा “कसैलाई केही नगर्ने” भनी धर्मपत्रमा सही गराएका थिए। त्यसबेला कान्छी रानी राज्यलक्ष्मी आफ्ना छोरा रणेन्द्रलाई युवराज बनाउन दबाब दिइरहेकी थिइन्। मुख्तियार माथवरसिंह थापाले समेत “उपेन्द्रजस्ता राजा र मजस्तो वजीर भए शासन राम्रो चल्थ्यो” भन्ने धम्की बोल्ने गरेको अभिलेख छ। यी कुरा जङ्गबहादुरलाई राम्ररी ज्ञात थियो।

जङ्गबहादुरविरुद्धका षड्यन्त्रहरूमा पनि माहिला साहेबज्यूको नाम जोडियो। उनकै साहिंला भाइ बद्रीनरसिंहले जङ्गबहादुरको हत्या गरी उपेन्द्रलाई राजगद्दीमा राख्ने योजना बनाए। योजनामा बमबहादुरलाई प्रधानमन्त्री र आफू कमान्डर-इन-चिफ बन्ने तय थियो। तर बमबहादुरले नै यो षड्यन्त्रबारे जङ्गबहादुरलाई जानकारी गराइदिए। त्यसपछि करवीर खत्रीलाई जातपतित गरियो। माहिला साहेबज्यू, बद्रीनरसिंह र जयबहादुर कुँवरलाई इलाहावादको जेलमा पठाइयो। इलाहावादमै हैजाबाट जयबहादुरको मृत्यु भयो। आमा गणेशकुमारीको जिद्दीपछि जङ्गबहादुरले बाँकी दुवैलाई नेपाल झिकाए, तर भक्तपुरको त्रिपुर दरबारमा नजरबन्द राखेर यातना दिए। पछि उनको निवास हनुमानढोकाबाट बागदरबार सारियो।

यस्तै, गोरखाका लखन थापामगरले पनि आफ्ना सहकर्मीहरूलाई उच्च सैन्य पद दिँदै उपेन्द्रलाई राजा र आफूलाई प्रधानमन्त्री बनाउने योजना बनाएका थिए। तर उनको योजना सफल भएन। लखन थापासहितका विद्रोहीहरूलाई पक्राउ गरी मृत्युदण्ड दिइयो।

अलौ पर्व र सम्धी सम्बन्ध

अलौ पर्वका बेला भने जङ्गबहादुरले माहिला साहेबज्यूलाई आफ्नो पक्षमा प्रयोग गरे। बुबा राजेन्द्रले विद्रोहीको साथ गरेपछि उनलाई सम्झाउन रणोद्दीपसिंहसँगै उपेन्द्रलाई पनि पठाइयो। उपेन्द्रले बुबालाई पत्र लेखेर दाजु सुरेन्द्रको पक्षमा लाग्न आग्रह गरेका थिए। इतिहासकार दिनेशराज पन्तले उपलब्ध गराएको कुण्डली अनुसार त्यति बेला उपेन्द्र १६ वर्षका थिए र उनको विवाह भएको थिएन।

जङ्गबहादुरले सत्ता सुरक्षित भएपछि राजपरिवारसँग वैवाहिक सम्बन्धमार्फत आफ्नो हैसियत मजबुत बनाए। उनले आफ्ना छोराहरूको विवाह राजा सुरेन्द्रका छोरीहरूसँग र आफ्ना छोरीहरूको विवाह युवराज त्रैलोक्यसँग गराए। सोही क्रममा माहिला साहेबज्यूका छोरा धीरेन्द्रविक्रमसँग आफ्ना दुई छोरी दीपकुमारी र खड्गकुमारीको विवाह गराइदिए। दीपकुमारी ‘बागकी कान्छी मैयाँ’ र खड्गकुमारी ‘चिरबिरे मैयाँ’ का रूपमा प्रसिद्ध भइन्। यी दुवैले पछि वीरशमशेरलाई सत्तासम्म पुर्‍याउन भूमिका खेले। साथै धीरेन्द्र र दीपकुमारीका नाति मोहनविक्रम (द्वितीय) पछि रामनगर राज्यका राजा बने।

त्यस्तै, माहिला साहेबज्यूकी छोरी मुनिन्द्रकुमारीको विवाह वीरशमशेरसँग भयो। जङ्गबहादुरले नै यो सम्बन्ध मिलाएका थिए। कन्यादानका क्रममा १२ धार्नी चाँदीको खड्कुलो दाइजो वीरशमशेरले पाएका थिए। पछि मुनिन्द्रकुमारी अर्धविक्षिप्त अवस्थामा पुगेपछि उनलाई बडामहारानी पदबाट हटाएर लङमा कैद गरियो र कान्छी पत्नी तोपकुमारीलाई बडामहारानी बनाइयो।

यसरी जसलाई जङ्गबहादुरले कहिल्यै “आफ्नो बागी” का रूपमा देखे र अनाहकमा जेल यात्रा गराए, अन्त्यमा उनै माहिला साहेबज्यूसँग सम्धी सम्बन्ध कायम भयो। सत्ताको डरले जोडिएको आशंकालाई वैवाहिक सम्बन्धले परास्त गरेको प्रसंग नेपाली इतिहासमा अनौठो मानिन्छ।