रोल्पाका दुर्गम बस्तीमा टेलिफोनको पहुँच पुगेको भए पनि सेवा विश्वसनीय हुन सकेको छैन। बर्खायाम सुरु भएसँगै अधिकांश टावरमा समस्या देखिँदा स्थानीयवासी सञ्चार सेवाबाट वञ्चित हुने गरेका छन्। डाँडाकाँडा बादलले ढाक्ने, पानी पर्ने र चट्याङ चम्कने समयमा टेलिफोन सम्पर्क टुट्ने समस्या रहेको स्थानीयको गुनासो छ।
रोल्पाभर दुई दर्जनभन्दा बढी टेलिफोन टावरहरू छन्। तीमध्ये अधिकांशमा बर्खाको समयमा समस्या देखिने गरेको स्थानीय बताउँछन्। सहरी क्षेत्रमा फाइभ-जी सेवा विस्तारको चर्चा भइरहँदा रोल्पाका दुर्गम बस्तीमा थ्री-जी र फोर-जी समेत भरपर्दो नहुनु निकै पीडादायी बनेको छ।
परिवर्तन गाउँपालिका–६ का दलबहादुर बुढामगरका अनुसार अत्यावश्यक काम पर्दा आफन्त र साथीभाइलाई फोन गर्नसमेत कठिन हुने गरेको छ। कतिपय बेला फोन उपलब्ध नहुने त कतिपय बेला स्वीच अफ भएको जस्तो देखिने उनको भनाइ छ। थबाङ गाउँपालिका–२ की सरिता रोकालाई भने साँझ परेपछि आफू संसारबाट अलग भएजस्तो महसुस हुन्छ। घाम लागेका बेला टेलिफोनले काम गरे पनि साँझ हुनासाथ टावर नै बन्द भएजस्तो हुने समस्या उनले सुनाइन्।
रोल्पाका अधिकांश टेलिफोन टावर अझै सौर्य ऊर्जाबाट सञ्चालन हुँदै आएका छन्। ऐतिहासिक गाउँ थबाङको टावरसमेत सोलार प्यानलमै निर्भर छ। त्यसैले बिहान र साँझको समयमा सेवा प्रभावित हुने गरेको स्थानीयको भनाइ छ।
रातामाटाको टावर प्रभावित हुँदा २२ जिल्लाको सेवा
गङ्गादेव गाउँपालिका–६ राँकको रातामाटामा रहेको रिपिटर टावरमा समस्या आउँदा आसपासका धेरै टावरले काम गर्न छाड्छन्। यो टावरसँग अन्य टावरसमेत जोडिएकाले त्यहाँ समस्या देखिएपछि पश्चिमोत्तर क्षेत्रका अधिकांश टावरको सेवा प्रभावित हुने गरेको बताइन्छ।
रातामाटाको टावरलाई पश्चिम नेपालकै ठूलो क्षमताको टावरमध्ये एक मानिन्छ। यसबाट करिब २२ जिल्लामा सेवा विस्तार भएको बताइएको छ। त्यसैले यहाँ आउने प्राविधिक समस्याले ठूलो भूगोलको सञ्चार सेवामा असर पार्ने गरेको स्थानीयको भनाइ छ।
रिपिटर टावरका कर्मचारी ललित वलीले टावरमा विद्युत् प्रसारण लाइन जोड्नुपर्ने विषय पटकपटक सरकारी निकायमा जानकारी गराए पनि हालसम्म स्थायी समाधान हुन नसकेको बताए। टावरको समस्या र विद्युत् लाइनको आवश्यकताबारे राज्यका निकायलाई पटकपटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको उनको गुनासो छ।
जनप्रतिनिधि नै स्वीकार्छन् : सेवा भरपर्दो छैन
परिवर्तन गाउँपालिका–१ का वडा अध्यक्ष मैते बुढामगरले बर्खा सुरु भएदेखि आफ्नो वडाका बस्तीमा टेलिफोन सेवाले नियमित काम नगरिरहेको बताए। थबाङ गाउँपालिका–४ का वडा अध्यक्ष हिकमत घर्तीमगरले साँझ परेपछि सम्पर्कबाट पूर्ण रूपमा टाढा पुगिने र यहाँका नागरिक सञ्चार सेवाबाट वञ्चित हुने गरेको बताए।
गङ्गादेव गाउँपालिकाका अध्यक्ष हरिबहादुर पुनले गाउँपालिकाभित्रका टावरमा केन्द्रीय विद्युत् नपुगेको बताए। सौर्य ऊर्जामै भर पर्नुपर्दा कहिलेकाहीँ सेवामा समस्या आउने उनको भनाइ छ। सुनछहरी गाउँपालिकाका अध्यक्ष धनबहादुर पुनले वडा १, २ र ३ मा टेलिफोन समस्या बढी रहेको र अन्य वडामा आंशिक समस्या रहेको जानकारी दिए। सौर्य टावरका ब्याट्रीले पर्याप्त पावर नदिँदा समस्या देखिने गरेको उनले बताए।
७–८ टावरमा विद्युत् लाइन पुर्याउने लक्ष्य
दूरसञ्चार कार्यालय रोल्पाका प्रमुख कैलाश आचार्यले डाँडाकाँडामा रहेका केही टावरमा बर्खाका बेला समस्या देखिने गरेको बताए। ती टावरसम्म विद्युत् पुर्याउन पनि कठिन भएको उनको भनाइ छ। चालु आर्थिक वर्षमा ७–८ वटा टावरमा विद्युत् प्रसारण लाइन पुर्याउने लक्ष्य राखिएको आचार्यले जानकारी दिए।
ती टावरमा विद्युत् लाइन जडान भएपछि रोल्पाको करिब ८० प्रतिशत टेलिफोन सेवासम्बन्धी समस्या न्यूनीकरण गर्न सकिने उनको भनाइ छ।







