त्रिशूली नदी करिडोरमा पर्ने नुवाकोट र रसुवाका जलविद्युत आयोजनाहरू भोटेकोशीको बाढीको चपेटामा परेका छन्। बाढीले निर्माण सम्पन्न भइसकेका र निर्माणाधीन दुवै प्रकारका आयोजनामा गम्भीर क्षति पुर्याएको छ। आयोजनासँगै प्रसारण लाइन र सबस्टेसनसमेत क्षतिग्रस्त भएका छन्।
बाढीका कारण नुवाकोट र रसुवामा विद्युत सेवा अवरुद्ध भएको छ। नेपाल विद्युत प्राधिकरणका निर्देशक थर्कबहादुर थापाले क्षतिग्रस्त प्रसारण लाइनको मर्मतका लागि अध्ययन थालिएको जानकारी दिएका छन्। उनका अनुसार मर्मतमा केही दिन लाग्नेछ।
नुवाकोटमा उत्पादित विद्युत काठमाडौं पुर्याउने किस्पाङ–५ पैरेबेशीस्थित सबस्टेसन, त्रिशूली जलविद्युत केन्द्र र देवीघाट जलविद्युत केन्द्र पनि बाढीले बगाएको छ। केन्द्रीय प्रसारण लाइनको विद्युत सेवा निरन्तरता दिन आजदेखि प्राविधिक अध्ययन सुरु गर्न लागिएको निर्देशक थापाले बताए।
रसुवामा क्षतिग्रस्त आयोजनामा रसुवागढी जलविद्युत केन्द्र (१११ मेगावाट), लाङटाङ खोला (२० मेगावाट), लाङटाङ–भोटेकोसी (१२० मेगावाट), चिलिमे (२२ मेगावाट) र निर्माणाधीन अपर त्रिशूली–१ (२१६ मेगावाट) रहेका छन्।
यस्तै, नुवाकोटतर्फ माथिल्लो त्रिशूली थ्री 'ए' (६० मेगावाट), निर्माणाधीन माथिल्लो त्रिशूली थ्री 'बी' (३७ मेगावाट), त्रिशूली जलविद्युत केन्द्र (२१ मेगावाट), देवीघाट (१४ मेगावाट) र नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको २५ मेगावाटको सौर्यप्लान्टमा क्षति पुगेको छ।
ती संरचनामध्ये अधिकांश पूर्णरूपमा क्षतिग्रस्त भएकाले सञ्चालनमा ल्याउन समय लाग्ने निर्देशक थापाले जानकारी दिएका छन्।







