बुधबार नेपाल र चीनमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ। यसप्रति संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गहिरो दुःख प्रकट गरेका छन्।
महासचिवका प्रवक्तामार्फत सार्वजनिक गरिएको वक्तव्यमा बाढीका कारण धेरै व्यक्तिको मृत्यु भएको, कयौं बेपत्ता भएको र व्यापक क्षति भएकोप्रति दुःख व्यक्त गरिएको छ। गुटेरेसले ज्यान गुमाउनेका परिवारप्रति शोक प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। उनले बाढी प्रभावित सबैप्रति आफ्नो ऐक्यबद्धता समेत व्यक्त गरेका छन्।
नेपालमा सरकारको नेतृत्वमा भइरहेको विपद् प्रतिकार्यमा संयुक्त राष्ट्रसंघ सहयोग गरिरहेको वक्तव्यमा उल्लेख छ। संयुक्त राष्ट्रसंघको टोलीले बाढीको क्षतिको स्तर मूल्याङ्कन गर्नेदेखि तत्काल आवश्यक सहायता उपलब्ध गराउनेसम्मका काम अघि बढाइरहेको छ।
बाढी प्रभावित समुदायलाई सहयोग पुर्याउन संयुक्त राष्ट्रसंघका टोली र मानवीय सहायता साझेदारहरूले आवश्यक सामग्री तथा जनशक्ति परिचालन गरिरहेको महासचिवले जानकारी दिएका छन्।
ज्यान जोगाउन खटिएका आपतकालीन उद्धारकर्मीहरूको प्रशंसा गर्दै गुटेरेसले थप सहायता उपलब्ध गराउन संयुक्त राष्ट्रसंघ तयार रहेको पनि दोहोर्याएका छन्।







