मुख्य सामग्रीमा जानुहोस्

रसुवाका जनप्रतिनिधिको गुनासोः सरकारको साथ नपाउँदा जनताका संकटमा लाचार

रसुवाका जनप्रतिनिधिहरूले बाढीपछि सरकारको उपस्थिति नै महसुस हुन नसकेको बताएका छन्। उनीहरूका अनुसार सम्पर्क, विद्युत् र सडक सबै टुटेपछि सयौं मानिस उद्धारको पर्खाइमा छन्। गोसाइकुण्डका उपाध्यक्षसहित धेरै स्थानीय जनप्रतिनिधि…

विश्वपत्र संवाददाता

· २ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
रसुवाका जनप्रतिनिधिको गुनासोः सरकारको साथ नपाउँदा जनताका संकटमा लाचार
Online Khabar

रसुवाका जनप्रतिनिधिहरूले बाढीपछि सरकारको उपस्थिति नहुँदा जनताका संकटमा आफूहरू लाचार बन्नुपरेको बताएका छन्। उनीहरूका अनुसार टेलिकम र एनसेलका फाइबर जडान विच्छेद भएका छन्, मोबाइल नेटवर्क चल्न सकेको छैन र विद्युत् पूर्ण रूपमा ठप्प भएपछि चार्ज गर्ने माध्यमसमेत छैन।

रसुवासँगै छिमेकी जिल्ला नुवाकोट पनि अन्धकारमा छ। यसले गर्दा राज्यका माथिल्लो निकायसँग सम्पर्क गर्न नसकिएको र सरकारले गर्नुपर्ने न्यूनतम दायित्वसमेत पूरा नभएको जनप्रतिनिधिको भनाइ छ।

जिल्लाका तीन पालिका प्रभावित भएका छन्। गोसाइकुण्ड र उत्तरगया गाउँपालिका बढी प्रभावित भएका छन् भने आमा छेदुङ गाउँपालिकामा केही क्षति पुगेको छ। स्थानीय बुढापाकाका अनुसार यस्तो विपद् तीन÷चार सय वर्षअघि मात्र आएको थियो।

सरकारी संयन्त्रबाट सहयोग नहुँदा उद्धार प्रभावित

हेड इन्जुरी भएका एकसहित चार बिरामीलाई हेलिकप्टरबाट उपचारका लागि पठाउन आग्रह गरिएको थियो। प्रधानमन्त्री कार्यालय र गृहमन्त्रीको सचिवालयले हेलिकप्टर आउने आश्वासन दिँदै लोकेशन मागे पनि राति ३ बजेसम्म नआएको जनप्रतिनिधिहरूले बताए। सिडियोले पनि आउने भने पनि नआएपछि बिरामीलाई कालिकास्थान पुर्याइएको थियो। त्यहाँ पनि बिहान ६ बजेसम्म हेलिकप्टर नपुगेपछि पानी पार गरेर धुन्चे पुर्याइएर बिरामीको उपचार गराइएको छ।

नजिकै आर्मीको ब्यारेक रहे पनि उद्धारका लागि सेना परिचालन भएको देखिएको छैन। प्रहरीले भने आफ्नो तर्फबाट सक्दो प्रयास गरिरहेको छ। तर, उनीहरूसँगै काम गरिरहेका सिपाहीसमेत बेपत्ता भएको र आफैं आत्तिएको अवस्था रहेको जनप्रतिनिधिले सुनाए।

सडक किनारामा रहेका शव घामले गन्हाउन थालेका छन्। पहिचान भएका शव व्यवस्थापन गर्ने समन्वय संयन्त्रसमेत राज्यसँग नभएको भन्दै उनीहरूले यसलाई राज्यविहीनताको अवस्था बताएका छन्। गोसाइकुण्डमा केही हेलिकप्टरले बिरामी ओसारिरहेको देखिए पनि ती व्यक्तिगत हेलिकप्टर हुन सक्ने र हाइड्रो आयोजनाले व्यवस्थापन गरेको हुन सक्ने आशंका छ। मानसरोवर यात्रामा आएका भारतीयहरूले समेत उद्धारमा सहयोग गरिरहेका छन्।

बेपत्ता र जोखिममा रहेकाहरू

सडक सम्पर्क टुटेपछि उद्धार कार्य ठप्प भएको छ। हाइड्रोपावरबाट भागेर आएका करिब डेढ सय मानिस नदीपारि बसिरहेका छन्। उनीहरूसम्म खाद्यान्न पुर्‍याउन नसकिएको र कोही नभएको अनुभूतिमा बस्नुपरेको जनप्रतिनिधिले बताए। सम्पर्कमा रहेका ३६ जना विद्यार्थी नुवाकोटतिर छन्, तर त्रिशुली नदीका कारण उनीहरूलाई परिवारसम्म पुर्‍याउन सकिएको छैन।

जनप्रतिनिधि आफैं अहिले करिब साढे तीन हजार मानिससँगै रहेको बताउँछन्। विद्यार्थी, घरबारविहीन भएका परिवार, दीर्घ रोगी, अक्सिजन चाहिने बिरामी, सुत्केरी, गर्भवती र ज्येष्ठ नागरिक उनीहरूमध्ये छन्। गाउँपालिकासँग रहेका दुई एम्बुलेन्स र एउटा गाडी अहिले उपलब्ध छैनन्।

कालिका र नौकुण्ड गाउँपालिकाले भने सहयोग गरेको छ। त्यहाँका जनप्रतिनिधि र जनताप्रति यहाँका जनताका तर्फबाट आभार व्यक्त गरिएको छ।

गोसाइकुण्ड गाउँपालिकाका उपाध्यक्ष, दुई वडाध्यक्ष र कार्यपालिका सदस्यहरू बेपत्ता भएका छन्। स्याफ्रुबेंसीमा आर्थिक रूपमा सम्पन्न मानिस र टिमुरेमा अन्य बासिन्दा बस्थे। उपाध्यक्षको घर पनि स्याफ्रुबेंसीमै रहेको बताइएको छ। उनीहरूसँग सम्पर्क हुन नसकेपछि मोबाइलले समेत काम गरेको छैन।

निर्माणाधीन त्रिशुली ३ बी जलविद्युत आयोजनामा काम गर्ने कामदारहरूको अवस्था अज्ञात छ। कतिपय सुरुङभित्रै हराएका छन्। अन्य जलविद्युत आयोजनाका कामदारको अवस्थाबारे समेत जानकारी हुन सकेको छैन। धेरै मानिसको ज्यान गएको आकलन गर्न सकिने उनीहरूको भनाइ छ।

स्थानीय जनप्रतिनिधिहरूले संघीय सरकारले समन्वय गरेर तत्काल हेलिकप्टरबाट उद्धार गर्नुपर्ने माग गरेका छन्। आकाशबाट मात्र हेरेर उद्धार नहुने भन्दै उनीहरूले कहाँ–कहाँ के सम्भावना छ भन्ने स्थानीय जनप्रतिनिधिलाई बढी थाहा हुने तर्क गरेका छन्।

गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक र बालबालिकाको व्यवस्थापनका लागि स्थानीय स्रोत अपुग भइरहेको छ। कतिपयमा मनोवैज्ञानिक समस्या देखिन थालेको छ। ‘गाडी आयो’ भन्ने सुन्नेबित्तिकै बाढी आयो भन्दै मानिसहरू बाहिर निस्किने गरेका छन्। आमाबुवा नभएका सयभन्दा बढी बालबालिकाको रेखदेख गर्नुपर्ने अवस्था छ।