मुख्य सामग्रीमा जानुहोस्

पृथ्वी राजमार्ग तेस्रो दिन पनि बन्द, तीन स्थानमा लेदो हट्न बाँकी

बुधबार साँझदेखि अवरुद्ध पृथ्वी राजमार्ग तीन दिनसम्म पनि खुल्न सकेको छैन। गजुरी गाउँपालिकाका दुई र गल्छी गाउँपालिकाको एक स्थानमा लेदो पन्छाउने काम बाँकी रहेको ट्राफिक प्रहरीले जनाएको छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
पृथ्वी राजमार्ग तेस्रो दिन पनि बन्द, तीन स्थानमा लेदो हट्न बाँकी
Online Khabar

रसुवाको भोटेकोशी नदीमा आएको बाढीले धादिङका विभिन्न खण्डमा थुपारेको लेदोका कारण पृथ्वी राजमार्ग लगातार तेस्रो दिन पनि बन्द छ। काठमाडौं–मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गतको राजमार्ग बुधबार साँझदेखि अवरुद्ध भएको हो।

ट्राफिक प्रहरी उपरीक्षक डिल्ली नारायण पाण्डेयले धादिङको गजुरी गाउँपालिकाका दुई स्थान र गल्छी गाउँपालिकाको एक स्थानमा बाढीले थुपारेको लेदो पन्छाउन बाँकी रहेको बताएका छन्। गजुरी गाउँपालिका–५ को गलौदी र बाहुनी भिर तथा गल्छी गाउँपालिकाको महेश दोभानमा लेदो अझै कायमै छ।

सडक आसपास बस्ती रहेकाले जमेको लेदो उठाएर अन्यत्रै लगेर फाल्नुपर्ने बाध्यता रहेको र त्यसैले काममा ढिलाइ भएको पाण्डेयको भनाइ छ। लेदो हटाउन उपकरण प्रयोग गरी काम भइरहेको उनले जानकारी दिए।

उनका अनुसार गजुरी गाउँपालिका–५ को बाहुनी भिरमा भने अझसम्म उपकरण पुग्न सकेको छैन। सो स्थानको लेदो पन्छाउनका लागि पहिला गलौदी र महेश दोभान क्षेत्रको लेदो हटाउनुपर्ने अवस्था छ।

ट्राफिक प्रहरी उपरीक्षक पाण्डेयले आज दिनभरमै सडक खुलाउनेगरी काम तीव्र गतिमा अघि बढाइएको बताएका छन्।