मुख्य सामग्रीमा जानुहोस्

चिनियाँ दूतावासले भन्यो : नेपाल–चीन सीमामा बाढीको खतरा कायमै, निगरानी जारी

नेपालस्थित चिनियाँ दूतावासले नेपाल–चीन सीमामा हिमपहिरोपछि निर्माण भएको तालका कारण बाढीको जोखिम अझै कायम रहेको बताएको छ । तालभन्दा तलका स्थानीय समुदायलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
चिनियाँ दूतावासले भन्यो : नेपाल–चीन सीमामा बाढीको खतरा कायमै, निगरानी जारी
Online Khabar

काठमाडौं, भदौ १२ । नेपालस्थित चिनियाँ दूतावासले नेपाल–चीन सीमामा हिमचट्टानको पहिरोपछि निर्माण भएको तालका कारण बाढीको जोखिम अझै कायम रहेको बताएको छ ।

दूतावासका प्रवक्ताले शुक्रबार विज्ञप्ति जारी गर्दै सीमा नदीको माथिल्लो क्षेत्रमा नेपालतर्फको सहायक नदीमा हिम–चट्टानको पहिरो गएको जनाएका छन् । उक्त पहिरोले नदी थुन्दा सीमा नदीसँगै ताल बनेको विज्ञप्तिमा उल्लेख छ ।

सो तालको पानीको सतह निकै माथि पुगेको र पानी बाहिरिन थालिसकेकाले थप क्षति पुर्याउन सक्ने दूतावासले चेतावनी दिएको छ । उद्धार तथा आपत्कालीन प्रतिकार्यका दृष्टिले अवस्था अत्यन्त संवेदनशील चरणमा रहेको उसले जनाएको छ ।

दूतावासले तालभन्दा तलतर्फका स्थानीय समुदाय र कर्मचारीलाई नदीको पानीको सतहमा आउने परिवर्तन नजिकबाट निगरानी गर्न, उच्च सतर्कता अपनाउन तथा सम्भावित जोखिम रोकथाम र आपत्कालीन प्रतिकार्यको अग्रिम तयारी गर्न आग्रह गरेको छ ।

चीन र नेपालका सम्बन्धित निकायहरूले अवस्थाको निरन्तर निगरानी गरिरहेको पनि विज्ञप्तिमा उल्लेख छ । सर्वसाधारणलाई आधिकारिक तथा विश्वसनीय सूचना मात्र अनुसरण गर्न, अपुष्ट सूचना फैलाउनबाट जोगिन र अनावश्यक त्रास सिर्जना नगर्नसमेत आग्रह गरिएको छ ।