रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सिरहाको गोलबजार नगरपालिका राहत सहयोगमा जुटेको छ। नगरपालिकाको कार्यपालिका बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख ५५ हजार ५५५ रुपैयाँ पठाउने निर्णय गरेको हो। नगरपालिकाले शुक्रबार विज्ञप्ति जारी गरेर यो जानकारी दिएको हो।
विज्ञप्तिअनुसार भोटेकोशी बाढीले रसुवासँगै नुवाकोट, धादिङ र चितवनलगायत जिल्लामा धेरै जनधनको क्षति पुर्याएको छ। प्रभावित नागरिकको राहत, उद्धार र पुनर्स्थापनाका लागि उक्त रकम कोषमा उपलब्ध गराइने बताइएको छ।
नगरपालिकाले विपद्मा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकमा रहेका परिवारमा समवेदना व्यक्त गरेको छ। साथै बाढी, डुबान र अन्य प्राकृतिक विपद्बाट प्रभावित भएकाहरूको छिट्टै स्वास्थ्यलाभ तथा सुरक्षित पुनर्स्थापनाको कामना गरिएको छ।
गोलबजार नगरपालिकाले विपद्को यो घडीमा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय, संघ–संस्था र नागरिक समाजबाट भइरहेका खोज, उद्धार, राहत र पुनर्स्थापनाका प्रयासप्रति एकजुटता समेत जनाएको छ। नगर प्रमुख श्याम कुमार श्रेष्ठले रकम पाँच दिनभित्र प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने जानकारी दिएका छन्।
यसैबीच, सिरहाकै लहान नगरपालिकाले पनि बाढीपीडितका लागि ११ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। योसँगै सिरहाका दुई स्थानीय तहले रसुवा बाढीपीडितलाई सहयोग गर्ने भएका छन्। जिल्लामा १७ वटा स्थानीय तह रहेका छन्।
नगरपालिकाले विपद्लाई सम्पूर्ण समाजको साझा चुनौती बताउँदै कठिन परिस्थितिमा एकअर्कालाई सहयोग गर्न सबै नागरिक तथा सरोकारवालालाई अपिल गरेको छ। मानवीय संवेदना, सहकार्य र एकताको भावना प्रदर्शन गर्न पनि आग्रह गरिएको छ।
त्यस्तै, हाल कायम रहेको प्रतिकूल मौसम र आगामी दिनमा आउन सक्ने सम्भावित बाढी, डुबानलगायत प्राकृतिक विपद्को जोखिमलाई मध्यनजर गर्दै नदी–खोला किनार, होचा तथा डुबानको सम्भावना भएका स्थानमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन पनि भनिएको छ।







