१३ भदौ, काठमाडौं । नेपाल–चीन सीमावर्ती तिब्बतस्थित केरुङ नाकामा गएको बाढीमा परी कम्तीमा ७ जनाको मृत्यु भएको छ । पहिरोमा परी ५५४ जना बेपत्ता भएका छन् ।
चिनियाँ अधिकारीहरूले बेपत्ता भएकाहरूको खोजी तथा उद्धारका लागि उक्त क्षेत्रमा व्यापक अभियान सञ्चालन गरेको जनाएका छन् । सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार शनिबार बिहान ९:३० बजेदेखि सिचुआन अग्नि नियन्त्रण तथा उद्धार कोरको टोलीले विपद् प्रभावित मुख्य क्षेत्रमा खोजी कार्य तीव्र पारेको हो ।
स्थलगत उद्धार टोलीले हेभी मेसिनरी उपकरण र मानवीय जनशक्ति परिचालन गरेर घाइते तथा बेपत्ताहरूको खोजी गरिरहेको बताइएको छ । केरुङ नाका नेपाल र चीन जोड्ने प्रमुख व्यापारिक नाकामध्ये एक हो । यहाँ गएको प्राकृतिक विपत्तिले ठूलो मानवीय क्षति पुर्याएको छ ।
उद्धार कार्य अहिले पनि जारी रहेको र घटनाको विस्तृत विवरण आउन बाँकी रहेको अधिकारीहरूले जनाएका छन् ।







