भदौ १३, काठमाडौं । नेपाल आयल निगमले रसुवा बाढीबाट अतिप्रभावित जिल्लाहरूमा इन्धन आपूर्तिलाई प्राथमिकतामा राखेको छ। बाढीपछिको खोज तथा उद्धार कार्यका लागि आवश्यक इन्धन नियमित रूपमा पुर्याइरहेको निगमले जनाएको छ।
खोज तथा उद्धारमा खटिएका हेलिकप्टरलाई इन्धन उपलब्ध गराउन नेपाली सेनासँग समन्वय गरिएको छ। निगमका अनुसार नुवाकोटस्थित नेपाली सेनाको ब्यारेकमै रिफ्युलिङ सेवाको व्यवस्था मिलाइएको छ।
निगमले बुधबार १२ हजार लिटर र बिहीबार ९ हजार लिटर इन्धन ट्याङ्करमार्फत् पुर्याएको जनाएको छ। यस्तै, शुक्रबार हेलिकप्टरमार्फत् ९ हजार लिटर र शनिबार १३ हजार लिटर इन्धन पुर्याइएको छ। हालसम्म सो ब्यारेकमा ४० हजार ८४० लिटर हवाई इन्धन पुर्याइसकिएको निगमले बताएको छ।
उद्धार कार्यलाई सहज बनाउन थानकोटस्थित बागमती प्रादेशिक कार्यालयबाट बाढी प्रभावित क्षेत्रका हाल सञ्चालनमा रहेका पेट्रोल पम्पहरूमा ७२ हजार लिटर पेट्रोल र ६२ हजार लिटर डिजेल पुर्याइएको छ। सार्वजनिक बिदाका दिनमा समेत पेट्रोल तथा डिजेल आपूर्ति नियमित गरिएको निगमले जनाएको छ।
यसैगरी, सेल्टरमा रहेका बाढी प्रभावित व्यक्तिका लागि आवश्यक एलपी ग्यास पनि पुर्याइएको छ। निगमको समन्वयमा नेपाल ग्यास उद्योग प्रालिबाट १० भदौमा नुवाकोटमा मात्र २३२ थान ग्यास सिलिण्डर पुर्याइएको थियो। त्यसयता नुवाकोट र रसुवामा थप १५० थान सिलिण्डर पठाइएको निगमले जनाएको छ।







