ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङस्थित लोदेन क्षेत्र घुम्न गएका पाँचथरका एक व्यक्तिको मृत्यु भएको छ। मृतक पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ का ४१ वर्षीय टेकराज सिवा रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख (डिएसपी) कमल बजगाँईले जानकारी दिए।
बजगाँईका अनुसार सिवासहित नौ जनाको टोली लोदेन घुम्न गएको थियो। त्यही टोलीका एक सदस्यले टोलीमा एक जनाको मृत्यु भएको खबर प्रहरीलाई गराएका थिए। फोन नलाग्ने भएपछि टोलीका सदस्यहरू डाँडामा चढेर प्रहरीलाई जानकारी गराएको उनले बताए।
टेकराजसँगै घुम्न गएका फेडरिक तुम्बापोले दुःखद घटना भएको र टेकराज अब नरहेको बताएका छन्। पापुङबाट प्रहरी टोली परिचालन भइसकेको पनि उनले जानकारी दिए।
लोदेन समुद्र सतहबाट चार हजार तीन सय मिटरको उचाइमा रहेको उच्च हिमाली क्षेत्र हो। प्राकृतिक मनोरम दृश्य भएकाले पछिल्लो समय अवलोकनका लागि धेरै मानिस यहाँ आउने गरेका छन्।
मृतकको शव हाल लाचाको होमस्टेमा राखिएको छ। प्रहरी टोली घटनास्थल पुगेपछि आवश्यक प्रक्रिया सुरु हुने बताइएको छ।







