अस्ट्रेलियाले बाढी प्रभावित नेपाली समुदायका लागि मानवीय सहायता पठाउने भएको छ। प्रधानमन्त्री एन्थोनी अल्बानिजले यो जानकारी दिँदै सहायता टोलीका लागि विमान परिचालन गर्न लागिएको बताएका छन्।
उनका अनुसार आगामी केही दिनभित्र अस्ट्रेलियन वायुसेनाको सी-१७ए विमान मानवीय सहायता सामग्री, आवश्यक उपकरण र जनशक्तिसहित नेपालतर्फ प्रस्थान गर्नेछ। बाढीबाट प्रभावित भएर ठूलो क्षति व्यहोरेका समुदायलाई सहयोग पुर्याउन सो टोली परिचालन गरिनेछ।
बाढीपछि अझै सम्पर्कमा नआएका अस्ट्रेलियन नागरिकका परिवार तथा आफन्तजनप्रति अल्बानिजले सहानुभूति प्रकट गरेका छन्।
नेपाललाई आवश्यक पर्ने स्थानमा सहयोग पुर्याउन अस्ट्रेलियाले निरन्तर सहकार्य गर्ने प्रतिबद्धता पनि प्रधानमन्त्रीले जनाएका छन्।







