नेपाल लिकर्स प्रा. लि. ले रासुवाको बाढीबाट प्रभावित समुदायको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्रीको विपद् राहत कोषमा एक करोड एक लाख रुपैयाँ सहयोग गरेको छ।
सिग्नेचर व्हिस्की र स्मिर्नोभ भोड्काजस्ता ब्रान्डका उत्पादक नेपाल लिकर्सले यो रकम कम्पनी र कर्मचारीहरूको संयुक्त योगदानमार्फत जुटाइएको जनाएको छ। कम्पनीका अनुसार उक्त सहयोग बाढी प्रभावित समुदायको तत्काल राहत र दीर्घकालीन पुनर्स्थापना दुवैका लागि प्रयोग गरिनेछ।
नेपाल लिकर्सले बाढीबाट प्रभावित परिवारहरूप्रति गहिरो समवेदना व्यक्त गर्दै उद्धार तथा राहत कार्यमा खटिएका सरकारी निकाय, सुरक्षाकर्मी र स्वयंसेवकहरूको प्रयासको समेत प्रशंसा गरेको छ।
कम्पनीले प्रभावित क्षेत्रमा काम गरिरहेका सरकार, स्थानीय निकाय र प्रथम उत्तरदाताहरूलाई आवश्यक सहयोग पुर्याउन व्यक्ति तथा संस्थाहरूलाई आग्रह पनि गरेको छ।







