मुख्य सामग्रीमा जानुहोस्

बाढीले ध्वस्त बनाएको त्रिभुवन त्रिशूली मावि सञ्चालन गर्न चौधरी फाउन्डेसनको आपत्कालीन सहयोग

भदौ १० गतेको बाढीले नुवाकोटको त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयको भवन ध्वस्त पारेपछि चौधरी फाउन्डेसनले विद्यालय तत्काल सञ्चालनमा ल्याउन सहयोग गर्ने भएको छ। फाउन्डेसनले डिजिटल कक्षाका सामग्री, फर्निचर, स्कुल ब्याग र…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
बाढीले ध्वस्त बनाएको त्रिभुवन त्रिशूली मावि सञ्चालन गर्न चौधरी फाउन्डेसनको आपत्कालीन सहयोग
Online Khabar

नुवाकोटको त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयलाई यथाशीघ्र कक्षा सञ्चालनको अवस्थामा पुर्‍याउन चौधरी फाउन्डेसनले आपत्कालीन सहयोग गर्ने भएको छ। भदौ १० गते आएको बाढीले विद्यालयको भवन ध्वस्त भएपछि प्रभावित विद्यार्थीको पठनपाठनलाई निरन्तरता दिन फाउन्डेसनले वैकल्पिक भवनमार्फत कक्षा सञ्चालन गर्न सहयोग जुटाउन लागेको हो।

विद्यालयमा करिब एक हजार ६ सय विद्यार्थी अध्ययनरत थिए। बाढीले भवन नै बगाएपछि उनीहरूको पढाइ प्रभावित बनेको छ। फाउन्डेसनले डिजिटल कक्षाको अवधारणाअनुसार पठनपाठन सञ्चालन गर्न आवश्यक स्मार्ट बोर्ड, डेस्कटप, ल्यापटप, प्रोजेक्टर र इन्टरनेटको व्यवस्था गर्ने जनाएको छ। कक्षाकोठाका लागि चाहिने फर्निचर काठमाडौंमा तयारी अवस्थामा राखिएका सामग्रीबाट विद्यालय पुर्‍याइनेछ। विद्यार्थीलाई चाहिने स्कुल ब्याग तथा स्टेसनरी सामग्रीसमेत उपलब्ध गराइने फाउन्डेसनले बताएको छ।

विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीका अनुसार तत्काल पठनपाठन सुरु गर्न वैकल्पिक भवनको व्यवस्था गर्ने प्रक्रिया अघि बढाइएको छ। भवन व्यवस्थापनको काम सम्पन्न भएपछि फाउन्डेसनले आवश्यक भौतिक तथा शैक्षिक सामग्री उपलब्ध गराउनेछ।

विद्यालय सञ्चालनका विषयमा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी र प्रधानाध्यापक दवाडीबीच भदौ १५ गते छलफल भएको थियो। सोही छलफलका आधारमा फाउन्डेसनले सहयोग गर्ने निर्णय गरेको हो।

चौधरी फाउन्डेसनका अध्यक्ष निर्वाण चौधरीले बाढी प्रभावित बालबालिकालाई मनोवैज्ञानिक असरबाट जोगाउँदै उनीहरूको पढाइलाई निरन्तरता दिन विद्यालय सकेसम्म छिटो सञ्चालन गर्ने उद्देश्य रहेको बताएका छन्। प्रधानाध्यापक दवाडीले फाउन्डेसनको सहयोगले विद्यार्थीको अध्ययनलाई निरन्तरता दिन महत्वपूर्ण योगदान पुग्ने बताएका छन्। वैकल्पिक भवनको व्यवस्थापनको काम अघि बढिसकेको र भवन तयार भएपछि फाउन्डेसनबाट सामग्री प्राप्त हुने उनले जानकारी दिए।