मुख्य सामग्रीमा जानुहोस्

मलेसिया रोजगारीमा एकाधिकारको तयारीविरुद्ध संघले आईएलओको ध्यानाकर्षण गरायो

मलेसिया रोजगारीमा सीमित वैदेशिक रोजगार व्यवसायी संस्थालाई मात्र सूचीकृत गरेर एकाधिकार कायम गर्न खोजिएको विषयमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आईएलओसमक्ष ध्यानाकर्षण गराएको छ । संघका अध्यक्ष डिकबहादुर खत्रीको…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
मलेसिया रोजगारीमा एकाधिकारको तयारीविरुद्ध संघले आईएलओको ध्यानाकर्षण गरायो
Online Khabar

२९ भदौ, काठमाडौं । मलेसिया रोजगारीका लागि थोरै संस्थालाई मात्र सूचीकृत गरी एकाधिकार कायम गर्न खोजिएको भन्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) समक्ष ध्यानाकर्षण गराएको छ ।

संघका अध्यक्ष डिकबहादुर खत्रीको नेतृत्वमा पदाधिकारी, पूर्वअध्यक्ष तथा सल्लाहकार सम्मिलित प्रतिनिधिमण्डलले आईएलओका नेपालस्थित कन्ट्री डाइरेक्टर नुमान ओज्कानसँग भेटवार्ता गर्दै मलेसियाको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली (एफडब्लूसीएमएस) सँग जोडिएको विषय उठाएको हो ।

भेटमा संघले एफडब्लूसीएमएसमा थोरै संस्थालाई मात्र आबद्ध गराइँदा मलेसिया रोजगारीमा एकाधिकार सिर्जना हुने र त्यसको प्रभाव सिधै नेपाली श्रमिक तथा वैदेशिक रोजगार व्यवसायीमा पर्ने धारणा राखेको छ । यस्तो अवस्थामा श्रमिकमाथि थप आर्थिक भार पर्न सक्ने तथा व्यवसायीले समान रूपमा व्यवसाय गर्ने अवसर गुमाउन सक्ने संघको चिन्ता छ ।

यस्तो व्यवस्था स्वस्थ प्रतिस्पर्धात्मक बजारको सिद्धान्तविपरीत हुने भन्दै संघले आईएलओसमक्ष गम्भीर सरोकार राखेको महासचिव हिराबहादुर डागी (हरि) ले जानकारी दिए ।

मलेसियाको प्रक्रियामा असहमति

नेपालबाट श्रमिक लैजाने क्रममा मलेसियाले एफडब्लूसीएमएसमार्फत सीमित म्यानपावरलाई मुख्य श्रमिक भर्ना संस्थाका रूपमा राख्ने व्यवस्था गरेपछि नेपालमा यसको विरोध हुँदै आएको छ । विद्यमान कानुनअनुसार मात्रै मलेसिया रोजगारीको प्रक्रिया अघि बढाउनुपर्ने अडान नेपालले राख्दै आएको छ ।

संघले श्रमिक तथा वैदेशिक रोजगार व्यवसायीको हितमा आवश्यक पहल र समन्वयलाई निरन्तरता दिने जनाएको छ ।

आईएलओ भन्छ : विषय अध्ययनमै

भेटमा आईएलओका कन्ट्री डाइरेक्टर ओज्कानले यो विषयमा आईएलओ जानकार रहेको र अध्ययन भइरहेको बताए । यसबारे आईएलओको मुख्यालय जेनेभामा समेत छलफल भइरहेको उनले जानकारी दिए ।