नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली विराटनगर किङ्स र कोशी प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा भएको ‘ड्रिम टु प्ले’ यू–२३ टी–२० क्रिकेट प्रतियोगिताको उपाधि उदयपुरले हात पारेको छ । विराटनगरको मरिलेबोन ज्वाला क्रिकेट मैदानमा सम्पन्न प्रतियोगितामा उदयपुरले राउन्ड–रोबिन लिगका चारै खेल जित्दै अपराजित रूपमा उपाधि जित्यो ।
कोशी प्रदेशका पाँच जिल्ला टोली — उदयपुर, मोरङ, झापा, सुनसरी र इलाम — सहभागी प्रतियोगिताको मुख्य लक्ष्य ग्रासरुट तहका युवा क्रिकेट प्रतिभाको पहिचान गरी उनीहरूलाई व्यावसायिक मञ्च उपलब्ध गराउनु रहेको आयोजकले जनाएको छ ।
उदयपुरले ब्याटिङ र बलिङ दुवै विभागमा सन्तुलित प्रदर्शन गर्यो । मोरङले तीन जितसहित उपविजेता स्थानमा चित्त बुझाउँदा झापा तेस्रो, सुनसरी चौथो र इलाम पाँचौं स्थानमा रह्यो ।
व्यक्तिगत प्रदर्शन
ब्याटिङतर्फ उदयपुरका धवन साहनीले प्रतियोगिताभर १४६ रन बनाउँदै सर्वाधिक रनकर्ताको सम्मान पाए । उनै टोलीका आदित्य बिकले १०२ रन जोडेर दोस्रो स्थान हासिल गरे ।
बलिङमा भने मोरङका अमर यादवले ११ विकेट लिँदै सर्वाधिक विकेट लिने खेलाडी बने । उदयपुरका नवराज सिग्देलले ६ विकेट लिए ।
डेभलपमेन्ट स्क्वाडमा अवसर
प्रतियोगिताको प्रदर्शनका आधारमा छानिएका उत्कृष्ट खेलाडीलाई विराटनगर किङ्सको डेभलपमेन्ट स्क्वाडमा समावेश गरिनेछ । उनीहरूले राष्ट्रिय टोलीका मार्की खेलाडी सन्दीप लामिछानेसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीसँग विशेष प्रशिक्षण गर्ने अवसर पाउने आयोजकले जनाएको छ ।







