मुख्य सामग्रीमा जानुहोस्

एनपीएलमा धनगढी क्रिकेट एकेडेमीका ९ खेलाडीको छाप, लोकेश बम रनसूचीको शीर्षमा

नेपाल प्रिमियर लिगका विभिन्न टोलीमा आबद्ध सुदूरपश्चिमका दुई दर्जनभन्दा बढी खेलाडीमध्ये धनगढी क्रिकेट एकेडेमीबाट प्रशिक्षण लिएका ९ जना छन् । लोकेश बम, नारायण जोशी, हिक्मत महरा र शेर मल्ललगायतको प्रदर्शनले स्थानीय स्तरकै…

विश्वपत्र संवाददाता

· ३ मिनेटको पढाइ

१पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:eKantipur
एनपीएलमा धनगढी क्रिकेट एकेडेमीका ९ खेलाडीको छाप, लोकेश बम रनसूचीको शीर्षमा
eKantipur

धनगढी । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिमका खेलाडीको प्रभाव बढ्दो छ । लिगका विभिन्न टोलीबाट खेलिरहेका दुई दर्जनभन्दा बढी सुदूरपश्चिमेली खेलाडीमध्ये धनगढी क्रिकेट एकेडेमी (डीसीए) बाट प्रशिक्षण लिएका ९ जना रहेको एकेडेमीले जनाएको छ । यही समूहको प्रदर्शनले सुदूरपश्चिमलाई नेपाली क्रिकेटको उर्वरभूमिका रूपमा चिनाउन थालेको छ ।

यसमध्ये सबैभन्दा चर्चामा छन् लोकेश बम । ५ खेलमा तीन अर्धशतक प्रहार गरिसकेका उनले १९४ रन जोडेका छन् र रन बनाउने खेलाडीको सूचीमा पहिलो स्थानमा छन् । पहिलो सिजनको अक्सनमा उनलाई टोलीमा सामेल गराएको विराटनगरले त्यसयताका सिजनमा पनि उनलाई कायम राख्दै आएको छ ।

२६ वर्षीय लोकेशको पहिचान एनपीएलभन्दा बाहिर पनि बनेको छ । यसै वर्ष मुम्बईको वानखेडे स्टेडियममा इंग्ल्यान्डसँग भएको खेलमा उनले आक्रामक ब्याटिङ गर्दै नेपाललाई जितको धेरै नजिक पुर्याएका थिए । उक्त खेल नेपाल ४ रनले हारे पनि लोकेशले ३९ रनको अविजित इनिङ्स खेलेका थिए ।

उनको यात्रा डोटीको बोगटानबाट सुरु भएको हो । ११ वर्षअघि डीसीएकै टोलीसँग मुम्बई पुगेका उनले क्रस मैदानमा शतक हानेका थिए । त्यतिबेला त्यही मैदानमा एक दिन विश्वकप खेल्ने सपना बुनेका लोकेशले करिब एक दशकपछि आफ्नो सपना पूरा गरेका हुन् ।

डीसीए अध्यक्ष सुवास शाही लोकेशलाई सुरुदेखि नै प्रतिभाशाली र क्रिकेटप्रति गहिरो लगाव भएको खेलाडी मान्छन् । उनका अनुसार लोकेशको रुचि र सम्भावना देखेरै एकेडेमीले उनलाई नियमित प्रशिक्षणको वातावरण दिएको थियो, र निरन्तरको अभ्यास तथा मिहिनेतले उनलाई यो स्थानसम्म पुर्याएको हो ।

नेपाल ‘ए’ खेलेका नारायणदेखि १४२ किमिको गतिसम्म

डीसीएकै अर्का खेलाडी नारायण जोशी नेपाल ‘ए’ टोलीबाट खेलिसकेका छन् । एनपीएलको पहिलो संस्करणमा पोखरा एभेन्जर्सका तर्फबाट मैदान उत्रेका उनले दोस्रो संस्करणमा विराटनगरबाट राम्रो प्रदर्शन गरेका थिए । उनको क्षमता र अनुभवका आधारमा विराटनगरले यसपालि पनि उनलाई टोलीमा राखेको छ ।

तीव्र गतिका बलर हिक्मत महराको बलिङ गति १४२ किलोमिटर प्रतिघण्टासम्म पुगेको छ । अर्जुन ट्रफी राष्ट्रिय टी–२० च्याम्पियनसिपमा उदीयमान खेलाडी अवार्ड जितेका उनले ‘बिट द स्पिड सिजन–२’ मा सबैभन्दा तीव्र गतिमा बलिङ गर्ने खेलाडीको अवार्ड पनि जितेका थिए । दोस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टबाट आइकनिक खेलाडी बनेका हिक्मत तेस्रो संस्करणमा पनि रोयल्सकै टोलीमा छन् ।

रहस्यमयी स्पिन बलिङका लागि परिचित शेर मल्लले अघिल्ला दुई संस्करणमा फरक–फरक टोलीबाट खेल्दै उपाधि जितेका थिए । यस पटक उनी लुम्बिनी लायन्सको उपाधि अभियानमा छन् । बाल्यकालमै भारतबाट फर्किएका शेरले डीसीए अध्यक्ष शाहीकै मार्गदर्शन र अभिभावकत्वमा क्रिकेट यात्रा अगाडि बढाएका थिए । टी–२० विश्वकपमा नेपालको ऐतिहासिक डेब्यु गरेका उनले आफ्नो पहिलो बलमै विकेट लिएका थिए ।

रोयल्समा स्थानीय खेलाडीको बाहुल्य

डीसीएकै उत्पादन अशोक धामी र बिपिन रावल चितवन राइनोजमा आबद्ध छन् । नेपालको यू–१९ टोलीको कप्तानी गरिसकेका अशोकले नेतृत्व क्षमता प्रमाणित गरिसकेका छन् भने यू–१६ र यू–१९ दुवै उमेर समूहको राष्ट्रिय टोलीमा खेलिसकेका बिपिन अघिल्ला संस्करणदेखि नै चितवनको टोलीमा छन् । उनी ब्याटिङ र विकेटकिपिङ दुवै गर्न सक्छन् ।

यस पटकको अक्सनमा पहिलो ‘सोल्ड आउट’ खेलाडी बनेका यू–१६ का सचिन भट्ट पनि डीसीएकै उत्पादन हुन् । प्रधानमन्त्री कपलगायत राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिमको प्रतिनिधित्व गरेका आयुब चन्द र विकेटकिपर/ब्याटर टेक रावल पनि सुदूरपश्चिम रोयल्समा छन् । हिक्मतसहित उनीहरूको उपस्थितिले रोयल्सको टोलीमा स्थानीय प्रतिभाको बाहुल्य देखाएको छ ।

ग्रासरुट लगानीको प्रतिफल

डीसीएले लामो समयदेखि सुदूरपश्चिममा क्रिकेट विकास, खेलाडी उत्पादन र व्यावसायिक क्रिकेटको वातावरण निर्माणमा योगदान दिँदै आएको छ । सुरुआती चरणदेखि नै प्रशिक्षण, प्रतिस्पर्धा र उचित अवसर उपलब्ध गराउने अभ्यासले खेलाडीलाई प्रादेशिक टोली, उमेर समूहको राष्ट्रिय टोली, नेपाल ‘ए’ र विश्वकप हुँदै एनपीएलसम्म पुर्याउन सहयोग गरेको एकेडेमीको भनाइ छ ।

आफ्ना खेलाडीको उपलब्धिलाई एकेडेमीले संस्थागत सफलताका रूपमा लिएको छ । ‘होम अफ च्याम्पियन्स’ अर्थात् च्याम्पियनहरूको घर भन्ने पहिचानलाई खेलाडीको प्रदर्शनले थप बलियो बनाउँदै लगेको उसको विश्वास छ । डोटीको गाउँबाट सपना बोकेर हिँडेका लोकेशदेखि विश्वकपमा नेपालको प्रतिनिधित्व गरेका शेरसम्मको यात्राले प्रतिभालाई समयमै पहिचान गरी अवसर र निरन्तर प्रशिक्षण दिने हो भने स्थानीय स्तरबाटै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न सकिन्छ भन्ने सन्देश दिएको छ ।