नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा काठमाण्डू गोर्खाजले लुम्बिनी लायन्सका लागि जितका लागि १६१ रनको लक्ष्य तय गरेको छ। टस हारेपछि पहिले ब्याटिङको निम्तो पाएको काठमाण्डूले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १६० रन जोड्यो।
काठमाण्डूको इनिङ्सको मुख्य आधार ओपनर डेभिड वार्नर रहे। उनले टोलीका लागि सर्वाधिक ६६ रन बनाए। ५० बलको सामना गरेका वार्नरले नौ चौका र एक छक्का प्रहार गरे।
वार्नरले अर्का ओपनर साहिल पटेलसँग मिलेर पहिलो विकेटका लागि शतकीय साझेदारी गरे। यी दुईले १०४ रनको साझेदारी बनाएका थिए। पटेलले ३६ बलमा दुई चौका र दुई छक्काको सहयोगमा ३८ रन जोडे।
तर दुवै ओपनर पेभेलियन फर्किएपछि काठमाण्डूको पारी लय गुमाउन पुग्यो। मध्यक्रमका ब्याटरहरू छिटोछिटो आउट हुँदा टोलीले नियमित अन्तरालमा विकेट गुमायो। कप्तान करण केसीले नौ रन बनाए भने विलियम बोसिस्टो शून्य, रसिद खान एक र जहाँदाद खान छ रनमा आउट भए।
पुछारमा भने सहान अराचिगेले आक्रामक ब्याटिङ गर्दै टोलीको स्कोर उकास्ने काम गरे। उनले १५ बलको सामना गर्दै तीन चौका र एक छक्का प्रहार गरी ३४ रन बनाएर अविजित रहे। मोहम्मद आदिल आलम एक रनमा र सन्तोष यादव दुई रनमा रनआउट भए। भीम सार्की भने शून्य रनमा नटआउट रहे।
लुम्बिनीका तीन बलर चम्किए
लक्ष्य रोक्ने क्रममा लुम्बिनी लायन्सका अभिषेक गौतम, शेर मल्ल र रुबेन ट्रम्पलम्यानले किफायती बलिङ गरे। अभिषेकले चार ओभरमा १५ रन मात्र खर्चेर दुई विकेट लिए। शेर मल्लले चार ओभरमा १९ रन दिएर दुई विकेट हात पारे भने रुबेन ट्रम्पलम्यानले तीन ओभरमा २४ रन खर्चेर दुई विकेट लिए।
लुम्बिनीको सुस्त सुरुवात
१६१ रनको लक्ष्य पछ्याउन मैदान उत्रिएको लुम्बिनी लायन्सले एक दशमलव एक ओभर सकिँदा कुनै विकेट नगुमाई छ रन बनाएको छ। क्रिजमा रहेका डार्सी सर्ट चार रनमा र आसिफ शेख एक रनमा खेलिरहेका छन्।







