मुख्य सामग्रीमा जानुहोस्

महासभामा इरानी राष्ट्रपति पेजेस्कियानको सम्बोधन : इरानी जनता आतंकवादका पीडित

संयुक्त राष्ट्रसंघको महासभामा इरानी राष्ट्रपति मसुद पेजेस्कियानले सम्बोधन गरेका छन् । उनले इरानमाथि भएको अमेरिकी हमला अवैध भएको भन्दै निन्दा गरे र इरानी जनतालाई आतंकवादका पीडित भएको बताए । उनको सम्बोधन सुरु हुनासाथ…

विश्वपत्र संवाददाता

· २ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
महासभामा इरानी राष्ट्रपति पेजेस्कियानको सम्बोधन : इरानी जनता आतंकवादका पीडित
Online Khabar

संयुक्त राष्ट्रसंघको महासभामा इरानी राष्ट्रपति मसुद पेजेस्कियानले सम्बोधन गरेका छन् । महासभालाई सम्बोधन गर्दै उनले अमेरिका र इजरायलको आक्रमणको निन्दा गरे तथा इरानी जनतालाई आतंकवादका पीडित भएको टिप्पणी गरे । उनको सम्बोधन सुरु हुनासाथ अमेरिकी प्रतिनिधिमण्डल महासभा कक्षबाट बाहिरिएको थियो ।

यसअघि एक दिन अगाडि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महासभालाई सम्बोधन गर्दा इरानी र क्युबाली प्रतिनिधिमण्डल कक्षबाट बाहिरिएका थिए । पेजेस्कियानले सम्बोधन गर्ने बेला भने अमेरिकी प्रतिनिधिमण्डल महासभामा उपस्थित थिएन ।

अमेरिका–इजरायलको आक्रमणको निन्दा

इरानमाथि भएको अमेरिकी हमलालाई अवैध भनी पेजेस्कियानले महासभामा निन्दा गरे । आफ्नो देशविरुद्ध भएको आक्रमणका कारण इरानी जनता आतंकवादको पीडित बनेको उनको भनाइ थियो ।

सम्बोधनका क्रममा उनले अमेरिका र इजरायलको हमलामा मारिएका इरानका तत्कालीन सर्वोच्च नेता आयतुल्लाह अलि खामेनीको तस्वीर हातमा बोकेर महासभालाई देखाए । आफू कुनै कानुनी प्रक्रिया वा कारणबिनै सर्वोच्च नेताको हत्या भएको देशबाट आएको उनले बताए । यसैगरी एक विद्यालयमा बमबारी भएको तस्वीर पनि उनले देखाए ।

इरानले अमेरिकी आक्रमणको जवाफ दिएको र पूर्ण शक्तिका साथ आफ्नो रक्षा गरेको उनले दाबी गरे । आक्रमणकारी पक्ष वरपरका क्षेत्रमा प्रवेश गरी विश्वविद्यालय, स्वास्थ्य केन्द्र, विद्यालय, अस्पताल र पूर्वाधारमा निशाना साधेको उनको आरोप थियो । यी सबै कार्य अन्तर्राष्ट्रिय कानुनविपरीत रहेको उनले बताए । देशमाथि थोपरिएको कायरतापूर्ण आक्रमण र आक्रामकताको सिकार निर्दोष जनता बनेको उनको भनाइ थियो ।

परमाणु कार्यक्रममा इरानको अडान

इरान परमाणु हतियार निर्माणको बाटोमा नलागेको पेजेस्कियानले दाबी गरे । तर आणविक ऊर्जासहित शान्तिपूर्ण आणविक प्रविधि प्रयोग गर्ने अधिकार आफ्नो देशसँग रहेको उनले जोड दिए । आफूहरू आक्रमण गर्ने शक्ति नखोजेको र समाजलाई हतियारमार्फत धम्की दिन नचाहेको उनको भनाइ थियो ।

इरानमाथि दबाब बढाइँदा इजरायलसँग भने परमाणु हतियार रहेको तर त्यसमाथि निरीक्षण नहुने विषयमा उनले प्रश्न उठाए । इजरायल परमाणु अप्रसार सन्धिको हस्ताक्षरकर्ता समेत नभएको उल्लेख गर्दै निरीक्षकहरूलाई भने इरानमा आउन भनिने गरेको उनले बताए । पछिल्ला दुई सय वर्षमा इरानले कसैमाथि आक्रमण नगरेको उनको दाबी थियो । इरानलाई क्षेत्रीय अस्थिरताको स्रोत र आतंकवादीका रूपमा चित्रण गरिनुप्रति पनि उनले आपत्ति जनाए ।

गाजा, प्यालेस्टाइन र प्रतिरोधको प्रश्न

गाजामा इजरायलले ७० हजारभन्दा बढी निर्दोष मानिसको क्रूरतापूर्वक हत्या गरेको आरोप पेजेस्कियानले लगाए । वार्ताको टेबलमा रहेकै अवस्थामा इरानमाथि बमबारी गरिएको उनले स्मरण गराए ।

प्यालेस्टाइनलाई बेवास्ता गरेर शान्तिको कुरा गर्न सकिँदैन भन्ने उनको भनाइ थियो । गाजामा जारी हत्या र व्यापक विनाशले प्रतिरोधप्रतिको जनविश्वास अझ बलियो बनाएको उनले बताए । बम र नाकाबन्दीले प्रतिरोधलाई नष्ट गर्न नसक्ने भन्दै आफ्नो भूमिबाट विस्थापित भएको तथा घरमा बमबारी, आक्रमण र हिंसा भोगेको मानिसले प्रतिरोध गर्नु मानव स्वभाव भएको उनले उल्लेख गरे । यस्तो अवस्थामा उनीहरूसँग अर्को विकल्प के रहन्छ भन्ने प्रश्न पनि उनले उठाए ।

ट्रम्पलाई सन्देश : इरान घुँडा टेक्दैन

सम्बोधनको अन्त्यमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नामै लिएर पेजेस्कियानले भने कि प्रतिबन्ध, बढ्दो दबाब र थप धम्कीका बीच इरानी जनताको प्रतिरोध अझ बढ्नेछ । आफूहरू कहिल्यै टाउको नझुकाउने र घुँडा नटेक्ने उनको भनाइ थियो । बल प्रयोगको भाषा अस्वीकार गर्दै संवाद, कूटनीति र वार्ताको बाटोमा अघि बढ्न इरान तयार रहेको कुरा इरानलाई धम्की दिन खोज्नेहरूले बुझ्नुपर्ने उनले बताए ।