मुख्य सामग्रीमा जानुहोस्

जलवायुजन्य विपत्तिमा नेपालजस्ता मुलुक पीडित, शक्तिराष्ट्रविरुद्ध विश्वव्यापी दबाब चाहिन्छ : माधव नेपाल

पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले कार्बन उत्सर्जन गर्ने शक्तिराष्ट्रहरूको लापरबाहीका कारण नेपालजस्ता निर्दोष मुलुकले जलवायुजन्य विपत्तिको मार भोग्नु परेको टिप्पणी गरेका छन्। उनले प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघको…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
जलवायुजन्य विपत्तिमा नेपालजस्ता मुलुक पीडित, शक्तिराष्ट्रविरुद्ध विश्वव्यापी दबाब चाहिन्छ : माधव नेपाल
Online Khabar

पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले जलवायु परिवर्तनको असरबाट नेपालजस्ता निर्दोष मुलुकहरू पीडित हुनु परिरहेको भन्दै यसका लागि विश्वका शक्तिराष्ट्रहरूको लापरबाही जिम्मेवार रहेको बताएका छन् । उनले कार्बन उत्सर्जन गर्ने ठूला राष्ट्रहरूविरुद्ध नेपालजस्ता मुलुकहरू एकताबद्ध भई विश्वव्यापी दबाब सिर्जना गर्नुपर्नेमा जोड दिए ।

बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लाका क्षतिग्रस्त क्षेत्रहरूको बुधबार अवलोकन गर्न पुगेका नेता नेपालले प्रभावित नागरिकहरूसँग भेटघाटसमेत गरे । भोटेकोशी बाढीले पुर्‍याएको क्षतिको सन्दर्भ उल्लेख गर्दै उनले जलवायु परिवर्तनको मारमा यस्ता महाविपत्ति आइरहेकोले विश्वको ध्यान आकर्षित गर्ने अवसर यही भएको उल्लेख गरे ।

संयुक्त राष्ट्रसंघमा जोडदार आवाज उठाउन माग

आफू प्रधानमन्त्री हुँदा सगरमाथाको कालापथ्थरमा जलवायु सम्बन्धी कार्यक्रम गरेर विश्व समुदायको ध्यान तानिएको स्मरण गर्दै उनले अब प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघको महासभामा यो विषय बलियो ढंगले उठाउनुपर्ने माग गरे । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजकसमेत रहेका नेता नेपालका अनुसार भोटेकोशी बाढीबाट पाठ सिक्दै प्रधानमन्त्रीको हालको महासभा सम्बोधनमा जलवायु असरको कुरा समेटिनुपर्छ भनी विज्ञहरूको परामर्श लिएर पार्टीले प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

बाढी प्रभावित जिल्लामा उद्धार, राहत र पुनःस्थापनाका काममा आफ्नो पार्टीका जनसंगठनहरू बाढी गएकै दिनदेखि खटिएको जानकारी दिँदै उनले पीडितहरूको बसोबासका लागि तीन सयभन्दा बढी घर निर्माण भइरहेको बताए । बाढीले बगाएका सुनचाँदी, नगद र अन्य धनमाल उत्खनन गरी घरधनीहरूलाई फिर्ता गरिएको उल्लेख गर्दै उनले आफ्ना कार्यकर्तालाई थप परिचालन हुन आग्रह गरे ।

त्रिशूली वारपार यातायातमा गुनासो

त्रिशूली नदी वारपार आवतजावत तथा यातायात सुचारु गर्न एक महिना बितिसक्दा पनि सरकारले ध्यान नदिँदा नागरिकहरू प्रताडित र आतंकित बन्नुपरेको उनले गुनासो गरे । अवलोकनका क्रममा बाढीको असरले बिदुर नगरपालिका क्षेत्र सबैभन्दा धेरै पीडामा देखिएको आफूले पाएको बताउँदै उनले तीनवटै जिल्लाको पुनःस्थापनामा सरकार, जनप्रतिनिधि र राजनीतिक दलहरूको ठूलो भूमिका आवश्यक रहेकोमा जोड दिए । जनप्रतिनिधिहरूसँग वास्तविक पीडितको पहिचान गरी राहत र पुनःस्थापनामा ध्यान दिनसमेत उनले आग्रह गरे ।