नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको सभापति को भन्ने पत्रकारको जिज्ञासामा रुष्ट प्रतिक्रिया दिएका छन्। शनिबार काठमाडौंमा आफ्नो पक्षले राष्ट्रिय सभागृहमा आयोजना गरेको समानान्तर अधिवेशनलाई सम्बोधन गरेर बाहिरिने क्रममा सञ्चारकर्मीहरूले उनलाई घेरेका थिए।
पार्टीको १५औं अधिवेशनको सन्दर्भमा केन्द्रित रहेका प्रश्नहरूबीच एक पत्रकारले कांग्रेसको सभापति देउवा हुन् कि गगन थापा भनेर सोधेका थिए। त्यसपछि देउवाले औंलो ठड्याउँदै आफूले मञ्चबाटै सबै कुरा बताइसकेको र त्यहाँ भनेको कुरा पत्रकारले नसुनेको भन्दै कडा स्वरमा असन्तुष्टि जनाए।
पत्रकारले प्रश्न फेरि दोहोर्याएपछि उनले आफूले पहिले नै भनिसकेको जवाफ दिएर विषय टुंग्याउने प्रयास गरे। त्यसपछि पनि सञ्चारकर्मीहरूले पार्टीको नेतृत्व र पछिल्लो राजनीतिक विवादबारे प्रश्न गरिरहे।
सामाजिक सञ्जालमा चर्चामा रहेको १८ करोड प्रकरणमा सरकारले कारबाही गर्नुपर्ने वा नपर्ने भन्ने जिज्ञासामा भने देउवाले स्पष्ट जवाफ दिएनन्। नेपाल सरकारलाई सोध्नुपर्ने भन्दै उनले प्रश्न पन्छाएका थिए।
यसअघि कार्यक्रमको मञ्चबाट बोल्दै देउवाले पार्टीभित्र १८ करोडको आर्थिक चलखेल भएको भन्दै असन्तुष्टि पोखेका थिए। मञ्चबाट बाहिरिएर गाडीसम्म पुग्दा पनि पत्रकारहरूले नेतृत्व र विवादबारे लगातार प्रश्न गरेपछि उनी झोक्किँदै गाडी चढेर त्यहाँबाट बाहिरिएका छन्।







