नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटी आफूलाई नेपाल प्रहरीको साइबर ब्युरोले बोलाएको जानकारी दिँदै आइतबार त्यहाँ उपस्थित हुने भएका छन् । ब्युरोले आइतबार बिहान साढे ११ बजे टेलिफोन गरी दिउँसो १२ बजेभित्र उपस्थित हुन भनेको उनले बताएका छन् ।
तोकिएको समयमा पुग्न नसकिने भएकाले आफू दिउँसो १ बजेतिर ब्युरोमा पुग्ने तयारीमा रहेको शिवाकोटीले जानकारी दिएका छन् । ब्युरोले भनेको समयमै पुग्न नसके पनि एक बजे पुग्ने उनको भनाइ छ ।
यसअघि पनि साइबर ब्युरोले आफूलाई बोलाएको खबर पाएको तर त्यतिबेला भारतमा रहेका कारण उपस्थित हुन नसकेको उनले सुनाएका छन् ।
यसपटक चाडपर्वको बिदाकै बेला ब्युरोले बोलाएको भन्दै शिवाकोटीले सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाएका छन् । फेसबुकमा उनले चाडपर्वको बिदामा समेत प्रहरीको ताकेता आएपछि आफू एक घण्टापछि साइबर ब्युरो पुग्न लागेको र आजका भेटघाट सम्भव भएसम्म ब्युरोमै गर्ने उल्लेख गरेका छन् ।
पत्रकार रोशन खड्काले सामाजिक सञ्जालमा आफूले लेखेको विषयलाई लिएर उजुरी दिएको र सोही उजुरीका आधारमा ब्युरोले आफूलाई बोलाएको जानकारी पाएको शिवाकोटीको भनाइ छ । उजुरी के विषयमा परेको हो र ब्युरोले किन बोलाएको हो भन्नेबारे भने उनले खुलाएका छैनन् ।







